रोगले भन्दा भोकले मर्ने अवस्था : मजदूर भन्छन्- ‘बालबच्चालाई माड ख्वाएर बचाइराख्या छाैँ’

SHARE:
  •  
  •  
  •  

कैलाली : विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९ ) नियन्त्रणका लागि सरकारले विगत ११ दिनदेखि गर्दैआएको लकडाउनका कारण दैनिक ज्यालादारी गरेर छाक टार्दै आएका मजदूरहरु समस्यामा परेका छन् ।लकडाउनपछि दैनिक गर्दै आएको ज्याला-मजदूरी छुटेको र घरमा खानका लागि खाद्यान्न नभएपछि छाक टार्न नै समस्या भएको कैलाली जिल्लाका विभिन्न स्थानमा रहेका मजदुरहरुले बताएका छन् ।अहिले उद्योग, बजार, कलकारखाना बन्द भएको र निर्माणका सबै काम रोकिएकाे अवस्था छ ।

आफूहरुको दैनिक ज्यालादारी समेत छुटेकोले छाक टार्न समस्या भएको कैलालीको गौरीगंगा नगरपालिका- ८ बढैपुरमा रहेको सुकुम्बासी शिविरका मजदूरहरुले बताएका छन् ।यस्तै, लकडाउनको कारण आफूहरुको कमाउने बाटो बन्द भएको र कहीँबाट खाद्यान्न राहत समेत नपाएकाे शिवरीमा बस्दै आएका मजदूर गोपाल नेपालीले बताए । उनले राशन-पानी नहुने बाँच्नै मुश्किल हुन थालेकाे बताएका छन् ।घरमा भएको चामल सकिएको र बाहिरबाट किनेर ल्याउने पैसा नभएकोले दुई दिनदेखि भोकै बस्नु परेको सोही शिविरकी मजदुर ललिता देवी नेपालीले बताइन् ।

घरमा ६ जनाको परिवार भए पनि नगरपालिकाले डेढ किलो मात्र चामल राहतस्वरूप भन्दै दिएको उनले सुनाइन् । रोगले भन्दा पनि भोकले आफुहरु मर्ने अवस्था आएको उनकाे भनाइ छ ।घरबाट बाहिर ननिस्कन भनेको र खाना, पानी केही नपाएर भोकभोकै मर्नु पर्ने अवस्था आएको अर्की वृद्धा मजदुर उर्मिला कलेलले बताइन् । सरकारले राहत दिने भने तापनि एक छाक पनि नपुग्ने चामल, दाल दिएको भन्दै उनले आक्रोश पोखिन् ।सरकारले घरभित्रै बस भनेको आफुहरुले पालना गर्दा अहिले आफुहरु भोकै पर्नुपर्ने अवस्था आएको र छोराछोरीलाई चामलको माड ख्वायर ज्यान बचाएको जुना नेपालीले बताइन् ।

उनले भनिन्, ‘जेनतेन बालबच्चालाई त माड ख्वाएर बचाइराख्या छाैँ, काम नपाएपछि मुखमा माड राख्न पनि मुस्किल छ ।’यता कैलालीको गौरीगंगा नगरपालिका वा.न. ८ का अध्यक्ष मिलन सापकोटाले दैनिक ज्याला मजदूरी गरेर खाने मजदूरहरु आफ्नो वडामा धेरै रहेको र बजेट कम भएकोले सबैलाई भागबण्डा गर्दा थोरै मात्र भागमा परेको बताए । उनले भने, ‘वडामा एक लाख मात्र बजेट राहतको लागि छुट्याइएकोले उक्त बजेटले पर्याप्त खाद्यान्न दिन सकिएन ।’यस्तै सुदूरपश्चिम क्षेत्रमा रहेका सयौँ ज्यालादारी मजदुरहरु लकडाउनका कारण समस्यामा परेका छन् ।

कतियपय क्षेत्रका मजदूरहरुले विगत केही दिनदेखि आफूहरु भोकै बस्नु परेको समेत गुनासो गरेका छन् ।सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय तहहरुले केही फाटफुट रुपमा राहतस्वरुप खाद्यान्न बाँडिरहेको भए तापनि त्यसले मात्र पर्याप्त हुन सकेको छैन । सरकारले प्रचारमुखी मात्र राहत वितरण गरेको मजदूरहरुले आरोप लगाएका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु