रंगशालामा डोजर लगाउने प्रकाश कँडेल सहित १८ जनाविरुद्ध मुद्दा

SHARE:
  •  
  •  
  •  

काठमाडौं, जेठ १७ । धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण थालेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरक्षाका लागि लगाइएको तारबार भत्काएको आरोपमा पक्राउ परेका १८ जनाविरुद्ध मुद्दा चलाइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले बिहीबार मुख्य आरोपित प्रकाश कँडेलसहित उनीहरूविरुद्ध मुद्दा चलाएको हो । मुद्दा चलाइएका सबै वडा नम्बर १६ का बासिन्दा हुन् । जसमा पाँचजना महिला छन् ।

मुद्दा चलाइएकामा तुलसी गुरुङ, देव तामाङ, राजन सापकोटा, सञ्जु गुरुङ, भैरव बस्ताकोटी, सुरेन्द्र विक, कृष्ण कँडेल, दीपक आचार्य, राजु सापकोटा, देव गुरुङ, विपीन भट्टराई, धुव्र चापागाईं , पारू परियार, यशोदा पौडेल, कोपिला सापकोटा, ईश्वरी माया तामाङ र मञ्जु चापागाईं छन् ।

घटनाको भत्र्सना
अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको घटनाको चितवनका राजनीतिक दलहरूले भत्र्सना गरेका छन् । बिहीबार भरतपुर महानगरमा भएको बैठकमा सबै दलले दोषीलाई कारबाही गरी तत्काल निर्माण प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् । सुरक्षा नभएको भन्दै निर्माण पक्षले बुधबार अबेर विज्ञप्ति निकालेर निर्माण स्थगित गरिएको जनाएको थियो ।

भरतपुर महानगरप्रमुख रेनु दाहालले दोषीलाई कारबाही र निर्माणलाई तीव्रता दुवै काम भएमा फेरि पनि रंगशाला निर्माणले गति पाउने बताइन् । चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आवश्यक सुरक्षा दिन आफूहरू तयार रहेको बताए । घटनामा संलग्न भनिएका नेकपा समर्थित सदस्यहरूलाई पार्टीको साधारण सदस्य नरहने गरी निलम्बन गरिएको छ ।

चितवन नेकपा अध्यक्ष यमबहादुर परियारद्वारा जारी विज्ञप्तिमा दोषीलाई कारबाहीको मागका साथै पार्टीबाट निलम्बन गरिएको उल्लेख छ । चितवन जिल्ला खेलकुद विकास समितिले घटनाको घोर भत्र्सना गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट साभार गरिएको हो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु