इंग्ल्याण्डका बलरलाई ध्वस्त बनाउन तयार छन् क्रिश गेल

SHARE:
  •  
  •  
  •  

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत आज (शुक्रबार) वेस्ट इन्डिज र इङ्ल्यान्ड आमने सामने हुँदैछन् । साउथह्याम्प्टनको द रोस बल मैदानमा हुने खेल नेपाली समय अनुशार बेलुकी ३ः१५ मा सुरु हुनेछ । आज हुने खेलमा वेस्ट इन्डिज लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ भने इङ्ल्यान्ड तेस्रो जितको खोजीमा हुनेछ ।

तयार छन् क्रिश गेल

आक्रामक ब्याट्सम्यानकाको छवि बनाएका वेस्ट इन्डिज क्रिस गेल कुनै पनि बलरका लागि खतरनाक बन्न सक्छन् । यसअघि नै विश्वकपपश्चात् संन्यास लिने घोषणा गरिसकेका गेलले पाँचौं पटक क्रिकेटको महाकुम्भ मेला विश्वकप खेल्दै छन् । बायाँहाते ब्याट्सम्यान गेल वेस्ट इन्डिजका ओपनिङ ब्याट्सम्यानसमेत हुन् । गेलको ब्याटिङमा वेस्ट इन्डिजको इनिङ कसरी अघि बढ्छ भन्ने निर्भर हुन्छ ।

गेलले एकदिवसीय क्रिकेटमा वेस्ट इन्डिजका लागि २ सय ८८ खेल खेल्दा ३८.०२ को औसतले कुल १० हजार एक सय ५१ रन बनाइसकेका छन् । त्यस क्रममा गेलको दोहोरो शतक, २५ शतक र ५१ अर्धशतक पनि सामेल छ । उनले एकदिवसीय क्रिकेटमा १ सय ६५ विकेट पनि लिएका छन् । ४६ रन खर्चंदै ५ विकेट लिनु गेलको उत्कृष्ट बलिङ प्रदर्शन हो ।

जारी विश्वकपको पहिलो खेलमा पाकिस्तानविरुद्ध आक्रामक ब्याटिङ गर्दै अर्धशतक पूरा गरेका गेलले अस्ट्रेलियाविरुद्धको दोस्रो खेलमा भने २१ रन मात्र जोडे । दक्षिण अफ्रिकाविरुद्धको खेल भने वर्षाले रद्द भएको थियो ।

युनिभर्स बोसको उपनाम पाएका गेलले सन् २००३ को विश्वकप, २००७, २०११ र सन् २०१५ को विश्वकप खेलेका थिए । पाँच विश्वकपमा २६ खेल खेलेका गेलले ३७.३७ औसतमा ९ सय ४४ रन बटुलेका छन् ।

देश : वेस्ट इन्डिज
उमेर : ३९ वर्ष
ब्याटिङ : बायाँहाते ओपनिङ ब्याट्सम्यान
बलिङ : दायाँ हाते अफ ब्रेक

Comments

comments

सम्बन्धित शीर्षकहरु