सामाजिक संञ्जालमा भाईरल भईरहेका यी तस्बिरको वास्तविकता यस्तो छ…

SHARE:
  •  
  •  
  •  

काठमाडाैँ । पछिल्लाे समय फेसबुक लगायत सामाजिक सञ्जालमा जनतालाई अग्राह्य कुराकाे उछित्ताे नै काढ्नेगरी व्यंग्य/आलाेचना हुने क्रम बढ्दाे छ । यसैकाे एक उदाहरण हाे तलकाे तस्वीर, जहाँ हामी झट्ट हेर्दा देख्छाैँ- कसैलाई अग्लाे बाँसकाे टुप्पाे (लिंगाे) मा राखेर सलामी दिइरहेकाे जस्ताे ।
वास्तवमा याे फाेटाेशप गरी बनाइएकाे व्यंग्य तस्वीर हाे, जुन तीव्र रुपमा सामाजिक सञ्जालमा भाइरल भइरहेकाे छ र हाँसाे अनि आक्राेशका पात्र बनिरहेछन् त्यसमा देखिने व्यक्ति । उनी धनकुटाको महालक्ष्मी नगरपालिकाका मेयर परशु नेपाल रहेकाे खुलेकाे छ ।

तत्कालीन नेकपा एमालेबाट मेयरमा विजयी भएका नेपाल हाल एकीकृत पार्टी नेकपाका नेता समेत हुन् । एक कार्यक्रममा उनी टेबुलमाथि चढेर सलामी ग्रहण गरिरहेकाे देखिन्छ भने वरिपरि हेर्नेहरुकाे भीड समेत छ । उनकाे याे फाेटाे बाहिरिएपछि व्यंग्य र आक्राेशमिश्रित प्रश्नहरु उठिरहेका छन्- के हामीले चाहेकाे गणतन्त्र यही थियाे ? पद, शानशाैकत, सम्मान र सुविधाका खातिर नेता/जनप्रतिनिधिहरु जे पनि गर्न खाेज्दा यसरी बदनाम भइरहेका छन् भन्ने याे एक उदाहरण हाे । केही समयअघि पिर्कामाथि सलामी लिइरहेकाे तस्वीर पनि यसैगरी सामाजिक सञ्जालमा भाइरल बनेकाे थियाे ।

त्यसरी ‘पिर्के सलामी’ ग्रहण गर्ने व्यक्ति थिए- ओखलढुंगाबाट प्रदेशसभा ‘क’का लागि निर्वाचित सांसद अम्बिरबाबु गुरुङ । उनी पनि पूर्व एमाले नेता हुन् । राष्ट्रपति रनिङ शिल्ड खेल प्रतियाेगिताका दाैरान उनलाई खेल मैदानमै सिद्धिचरण नगरपालिकाका विद्यार्थीहरुले सलामी दिएका थिए । यसैगरी साेही खालकाे राताे कपडा विछ्याइएकाे पिर्कामाथि नै ओखलढुंगाकै अर्का जनप्रतिनिधि पनि सलामी लिइरहेकाे फाेटाे समेत सामाजिक सञ्लालमा देखिएकाे छ । उनी हुन्- प्रदेश सभा ‘ख’बाट निर्वाचित प्रदेश सांसद मोहनकुमार खड्का, जाे तत्कालीन माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य थिए ।

यी सबै केवल कम्युनिष्ट पार्टीका नेता भएर मात्रै चर्चामा आएका हाेइनन् हाेला, जनतासामु बाँडेका सपना/वाचा पूरा गर्नतिर भन्दा आफ्नै शानशाैकत र हैकमवादी मानसिकतामा केन्द्रित हुँदाका परिणाम हुन् भन्ने तस्वीरले प्रष्ट्याउँदैन र ? यसैबीच महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले सलामी दिएको सन्दर्भमा सामाजिक सञ्जालमा आएको टिकाटिप्पणीको सामाजिक सञ्जालमार्फत नै प्रतिक्रियालाई आफूले महत्वपूर्ण सिकाइको रुपमा लिएको बताउनु भएको छ ।

‘खेलको उद्घाटन समारोहको क्रममा खेलाडीहरुलाई सलामी लिने चलन रहेको र मेयर अलि अग्लो स्थानमा बस्नुपर्छ भनी हतार–हतार म उभिएको ठाउँमा अग्लो आसनी ल्याइयो । खेलाडीलाई सलामी दिने कुरालाई मैले सहज रुपमा लिएर भुइँबाटै हुने कुरा बताए पनि जनप्रतिनिधि मित्रहरु, नजिकै रहनु भएका स्थानीय नागरिक, स्वंयम सेवक, कर्मचारीहरुलगायतले यो चलन रहेको, यसले खेलाडीलाई थप हौसला दिने र यसलाई पालना गर्नु पर्ने कुरा बताएपछि मैले त्यस स्थानबाट खेलाडीलाई सलामी दिएको हुँ’, मेयर नेपालले भन्नुभयो ।

मेयर नेपालले आफूहरु नयाँ भएकाले धेरै कुरा थाहा नभएको र स–साना गल्ती हुन पुगेको बताउनुभयो, ‘यो घटनाबाट हामी जनप्रतिनिधिलाई सामान्य कमजोरी पनि गर्ने छुट छैन भन्ने सिकाइ मिलेको छ । स्थानीय जनतासँग हामी प्रत्यक्ष जोडिएका छौँ । खेलको उद्घाटन समारोहको क्रममा स्थानीयले गरेको आग्रह र मेरा गह्रौँ पाइला अग्लो स्थानमा चढ्दै गरेको दृश्य झलझली सम्झिरहेछु । गल्ती भएछ भन्ने अवश्य लागेको छ । सबै सकारात्मक र नकारात्मक सुझावलाई मैले आगामी यात्राका क्रममा ध्यान दिनु पर्ने पाठको रुपमा लिएको छु ।’ यसबाट महालक्ष्मी नगरपालिकाका नागरिकलाई आफ्नो मेयरले सामन्तवादको सिको गर्न थाल्यो भन्ने कदापि नबुझ्न मेयर नेपालले आग्रह गर्नुभएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु