चर्को आलोचना पछि पछि हट्यो सरकार ! नेपालमा नहुने भयो आईफा अवार्ड

SHARE:
  •  
  •  
  •  

काठमाडौं । निकै विवादित बनेको इन्टरनेशनल इण्डियन फिल्म एकेडेमी अवार्ड (आईफा) नेपालमा नहुने भएको छ । सरकारले नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनसमेत गर्ने उद्देश्यले गर्न खोजेको कार्यक्रमको सर्वत्र आलोचना भएपछि सरकार पछि हटेको हो ।

आईफा अवार्ड समारोहको संयोजन गरिरहेको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले आईफा अवार्ड नेपालमा नहुने पक्का–पक्की भएको र त्यसको घोषणा हुन मात्रै बाँकी रहेको बताएका हुन् ।

यसको आधिकारिक निर्णय भने बैठक बसेर गरिने उनले बताए । अवार्डबारे थप निर्णय भने पर्यटन मन्त्रालयले गर्ने पनि उनले जानकारी दिए । जोशीले संसदीय समितिले नै अवार्ड नगर्न निर्देशन दिईसकेकोले आईफा अवार्ड नेपालमा नहुने स्पष्ट पारे । असार ३ गते बसेको मन्त्रिपरिषद बैठकले आईफा नेपालमा गर्ने र त्यसको सबै आर्थिक भार सरकारले ब्यहोर्ने निर्णय गरेको थियो । तर यो निर्णयको सर्वत्र आलोचना भयो ।

आईफा अवार्ड कार्यक्रम सम्पन्न गर्न लाग्ने करिब १ अर्ब रकम सरकारले ब्यहोर्ने निर्णयको नागरिक, प्रतिपक्षी र सत्तारुढ दलकै नेतालेसमेत विरोध गरेका थिए । आईफा अवार्ड गर्नकै लागि काठमाडौं महानगरपालिकाले लगभग ४४ करोड रुपैयाँ दिन सहमति नै जनाएको थियो । अझ मंगलबार बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले त आईफा नेपालमा गर्ने निर्णय राष्ट्रघाती भन्दै नगर्न निर्देशन नै दिएको थियो ।

‘आइफा रद्ध हुँदा अन्तर्राष्ट्रियस्तरमा नेपालबारे नराम्रो सन्देश गयो’

इन्टरनेशनल इण्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) रद्ध भएकोमा कलाकार दिपकराज गिरीले असन्तुष्टि जनाएका छन्। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले रद्ध गर्न निर्देशन दिएसँगै अवार्ड नहुने निश्चित भएको छ। अवार्ड नै नहुने अवस्था सिर्जना भएपछि हास्य कलाकार गिरीले असन्तुष्टि जनाएका हुन्। आइफा रद्ध हुँदा अन्तर्राष्ट्रिय स्तरमा नेपालबारे नकारात्मक सन्देश गएकोमा चिन्ता व्यक्त गर्दै गिरीले पैसा मात्रै बचाएर केही नहुने उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘आइफा नगरेर देशको पैसा त बच्यो राम्रो कुरा हो। तर अन्तर्राष्ट्रिय स्तरका कुनै पनि ठूला कार्यक्रम गर्न नसक्ने देश भनेर पनि प्रचारित हुँदैछ कि? निजी स्तरले गर्न लागेको होस् वा सरकारी स्तरले, यस्ता ठूला कार्यक्रमहरू लगातार धेरै पटक स्थगित भैरहेका छन्। यसले पनि नराम्रो सन्देश गैरहेको छ। पैसा मात्रै बचेर हुँदैन, प्रतिष्ठा पनि बच्नु पर्छ।’

नेपालको पर्यटन प्रवर्द्धनका लागि भन्दै सरकारले आइफा अवार्ड नेपालमा गर्ने निर्णय गरेको थियो। यसका लागि नेपाल पर्यटन बोर्ड र आयोजक संस्था ह्वीजक्राफ्ट इन्टरनेशनल इन्टरटेनमेन्टबीच सहमतिमा हस्ताक्षर समेत भइसकेको थियो। अवार्ड समारोहमा विभिन्न देशका ६ सय प्रतिनिधि नेपाल आउने, ६० भन्दा बढी बलिउडका प्रख्यात कलाकार सहभागी हुनेलगायतको सहमति भएको थियो।

Comments

comments

सम्बन्धित शीर्षकहरु