त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा, शरद र बसन्त टिमबाट आउट

SHARE:
  •  
  •  
  •  

काठमाडौं : सिंगापुरमा हुने त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट शृङ्खला खेल्ने नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । बिहीबार पत्रकार सम्मेलन गरी पारस खड्काको कप्तानीमा नेपाली टोलीको घोषणा गरिएको हो । ज्ञानेन्द्रको अनुपस्थितिमा दीपेन्द्रसिंह ऐरीले उपकप्तानको भूमिका निर्वाह गर्ने छन्।

यस्तै अनुभवी बलर बसन्त रेग्मी र ब्याट्सम्यान शरद भेषावकर पनि टिममा छैनन्। कुशल मल्ल र इशान पाण्डे पहिलोपटक टिममा परेका छन्। दुबै देब्रे हाते ब्याट्सम्यान हुन्। आरिफ शेख, सुसान र सन्दीप जोराले पुनरागमन गरेका छन्।

नेपाली टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल पारिवारिक कारण भन्दै टोलीमा सहभागी नभएपछि दीपेन्द्रले उपकप्तानको जिम्मेवारी पाएका हुन् । बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट त्रिकोणात्मक शृङ्खलाका लागि १५ सदस्यीय टीमको घोषणा गरेको हो । टोलीको छनोट आईसीसीका प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काले गरेका हुन् ।

असोज दोस्रो साता सिंगापुरमा हुने त्रिकोणीय अन्तर्राष्ट्रिय टी-२० सिरिजमा नेपाल, जिम्बावे र आयोजक सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिता सिंगापुरले टी-२० विश्वकप छनोटको तयारीका लागि आयोजना गर्न लागेको हो। नेपाल र जिम्बावे छनोटबाट बञ्चित भए पनि सिंगापुर भने विश्वकप छनोट खेल्दैछ।

नेपाल सिंगापुरमा प्रतिस्पर्धा गरेपछि उतैबाट ओमान जानेछ। ओमान हुने प्रतियोगितामा आयोजक ओमान, नेपाल, आयरल्यान्ड, हङकङ र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगिता आइसिसी टी-२० विश्वकप छनोटको पूर्वसन्ध्यामा आयोजना गर्न लागिएको हो।

नेपाली टोली

पारस खड्का (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), सोमपाल कामी, कारण केसी, बिनोद भण्डारी, ललित नारायण राजबंशी, पवन सर्राफ, सन्दीप लामिछाने, अभिनास बोहोरा, कुशल मल्ल, आरिफ शेख, सुशन भारी, इशान पाण्डे, सन्दीप जोरा, रोहितकुमार पौडेल ।

Comments

comments

सम्बन्धित शीर्षकहरु