ओलीलाई अष्टलक्ष्मीको सरप्राइज: `म माधव खेमामै छु´

काठमाडौं । लामो समयदेखि एमालेको माधव नेपाल समुहमा रहेर अध्यक्ष केपी ओलीको चर्को विरोध गर्दै आएकी अष्टलक्ष्मी शाक्य बुधबार अचानक वाग्मती प्रदेशको मुख्यमन्त्री बनिन् । ओली समूहमा प्रवेश गरेर उनी मुख्यमन्त्री बनेको धेरैले चर्चा गरे ।

यसअघि ओलीसँगको संघर्षका क्रममा अग्रभागमा भुमिका निर्वाह गरेकी शाक्य एकाएक ओली पक्षबाट मुख्यमन्त्री बनेको भन्दै धेरैले उनको राजनीतिक नैतिकताबारे प्रश्नसमेत उठाए ।

तर, माधव नेपाल समूह छोडेर मुख्यमन्त्री भएको भोलिपल्टै शाक्यले अर्को ‘सरप्राइज’ दिएकी छिन् । उनले ओलीसँग नरहेको सन्देश दिँदै एमालेको तेस्रो धारका नेताहरुको समूहमा मिसिएर संयुक्त अपिल जारी गरेकी छिन् । जुन ओली पक्षका लागि ‘सरप्राइज’ हो ।

तेस्रो धारका नेताहरुको संयुक्त अपिलमा शाक्यको समेत नाम देखेपछि ओली पक्ष चकित बनेको छ । मुख्यमन्त्री शाक्यले माधव नेपाल पक्षका १४ सांसदमाथि भएको कारवाही फिर्ता लिन माग गरेकी छिन् ।

​बिहीबार राति एमालेको तेस्रो धारका ९ नेताले जारी गरेको अपिलमा एक दिनअघि मात्रै ओली पक्षबाट मुख्यमन्त्री बनेकी शाक्यले हस्ताक्षर गरेकी छन् ।

भदौ २ गते माधव नेपालले नेकपा एमाले समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । पूर्वएमालेका २०३ केन्द्रीय सदस्यमध्ये नेता माधव नेपालले ५८ जना केन्द्रीय सदस्यसहित ९५ जनाको केन्द्रीय समिति सदस्यहरुको नामावली आयोगमा बुझाउँदा शाक्यको नाम थिएन ।

जबकि नवौं महाधिवेशनपछि शाक्य ओलीविरुद्ध सवैभन्दा चर्को आलोचनामा उत्रने गरेकी थिइन् । सोही कारण पनि शाक्यको साथ माधव नेपालकै पक्षमा हुन्छ भन्ने धेरैको आँकलन थियो ।

तर, नेपालले नयाँ पार्टी दर्ताका लागि आयोगमा बुझाएको नाम लिष्टमा शाक्यको नाम नहुनु र त्यसको केही घण्टाभित्रै शाक्य वाग्मती प्रदेशको मुख्यमन्त्री नियुक्त भएपछि धेरैले शाक्यमा आएको नयाँ ट्वीस्टका रुपमा व्याख्या गरेका थिए ।

तर, त्यो ट्वीस्ट धेरै घण्टा टिकेन । अध्यक्ष ओलीको पहलमा मुख्यमन्त्री बनेकी उनै शाक्य त्यसको भोलिपल्टै तेस्रो धारमा उभिन पुगिन् । जसले गर्दा माधव नेपाल पक्षजस्तै ओली पक्षसमेत झस्किन पुगेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eight × 1 =