ओलीसँग वारपारको स्थितिमा माओवादी: कांग्रेस र जसपासँग निर्यायक वार्ता गर्ने

काठमाडौं : नेकपा माओवादी केन्द्रले कांग्रेस र जनता समाजवादी पार्टी जसपा सँग निर्णायक छलफल गरेर एक दुई दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ।

रुकुम पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फर्किने बित्तिकै कांग्रेस र जसपासँग निर्णायक वार्ता गर्ने र समर्थन फिर्ता लिने एक माओवादी नेताले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा कांग्रेस माओवादी र जसपाको गठबन्धन सरकार बनाउने कोशिस भइरहेको छ । तीनवटै दलका नेताहरुले गोप्य छलफललाई निरन्तरता दिएका बताइएको छ । तर तीनवटै दल ओलीको विकल्पमा गठबन्धन सरकार बनाउन राजी भएपनि कुरा मिलिनसकेको ती माओवादी नेताले जानकारी दिए ।

अन्तिम गृहकार्य गरिँदै
कांग्रेस र माओवादीका नेताहरुका अनुसार ओलीको विकल्पमा गठबन्धन सरकार बनाउनका लागि तीनै दल अन्तिम छलफल गरेर सहमति जुटाउने प्रयास गरिरहेका छन् । तीन दलको गठबन्धन गर्दा ओलीले चाल्ने संभावित कदम र त्यसलाई कसरी रोक्ने भन्ने विषयमा पनि तीनै दल गम्भीर रहेको बताइएको छ ।

माओवादी र जसपाका कारण कांग्रेसलाई निर्णय लिन कठिनाई
नेपाली कांग्रेसका एक नेताका अनुसार कांग्रेसले माओवादी र जसपाको अझै भर गर्न सकेको छैन । माओवादी अध्यक्ष पुष्पकमल दाहालले बिगतमा चुनावी तालमेलमा अन्तिममा कांग्रेसलाई धोखा दिएर एमालेसँग गठबन्धन गर्न पुगेका थिए । दाहालको अस्थिर प्रवृत्तिका कारण पनि कांग्रेस माओवादीसँग विश्वस्त हुन सकेको छैन । त्यसैगरी जसपासँग पनि कांग्रेसले सहज विश्वास गर्न सकेको छैन । किनकि जसपामा पनि पूर्व राजपा पक्षले प्रधानमन्त्री ओलीसँग सत्तामा जाने वारेमा भित्रि रुपमा छलफल चलाएको छ । तर पूर्व समाजवादी पार्टी भने अझै पनि ओलीसँग सत्ता समीमरण गर्नु हुँदैन भन्नेमा छ। त्यसकारण कांग्रेसले जसपासँग लिखित रुपमा नै प्रतिवद्धता खोजेको कांग्रेस श्रोतले बतायो।

गठबन्धन छेक्ने र निर्वाचनमा जाने ओलीको योजना
प्रधानमन्त्री ओली पनि हरसंभव रुपमा विपक्षी गठबन्धन छेक्ने र मुलुकलाई निर्वाचनमै लैजाने योजनामा रहेका छन् । यसको छनक उनले पटक–पटक सार्वजनिक भाषणहरुमा दिइसकेका छन् । त्यसकारण पनि पुनःस्थापित प्रतिनिधिसभामा सरकारले विजनेश दिएको छैन । ओली गत पुस ५ गतेको प्रतिनिधि सभा विघटनको कदम ठीक थियो भन्ने प्रमाणित गर्न खोजिरहेका छन् ।

ओलीसँग वारपारको स्थितिमा माओवादी
ओलीले प्रदेश सरकार चलाउन थालेपछि माओवादी पनि आफ्नो रणनीति बनाउन थालेकोछ । कर्णालीमा मुख्य मन्त्री महेन्द्र बहादुर शाहीलाई दिएको समर्थन एमालले फिर्ता लिएपछि माओवादीले पनि गण्डकी प्रदेश सरकारमा सहभागि आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएको छ । सोही अनुरुप गण्डकी प्रदेश सरकारमा सहभागि माओवादीका दुइजना मन्त्रीले हिजो राजीनामा दिएका छन । गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादीलाई पूर्ववत् अवस्थामा फर्काएपछि प्रतिनिधि सभामा कुनै पनि दलको बहुमत छैन । केन्द्रको संकटले प्रदेशलाई पनि छुन थालेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− one = one