उपेन्द्र निवासमा प्रचण्ड–नेपाल छलफल: ओलीविरुद्ध मोर्चाबन्दी, नयाँ सरकारसम्मै सहकार्य !

काठमान्डौं : नेकपा (माओवादी केन्द्र), नेकपा एमालेको माधव नेपाल पक्ष र जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र–बाबुराम पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मोर्चाबन्दी शुरू गरेको छ । जसपा अध्यक्ष उपेन्द्र यादवको निवास हात्तीवनमा बुधवार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नेपाल र यादवबीच संसद्मा ओलीलाई विश्वासको मत पुग्न नदिने सहमति भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् । बैठकमा नेता नेपालले ओलीलाई विश्वासको मत नदिने बताएको स्रोतले जानकारी दियो । ‘तीन नेताबीच ओलीलाई हटाएर नयाँ सरकार बनाउने सहमति भएको छ,’ माओवादीका दोस्रो तहका एक नेताले लोकान्तरसँग भने ।

बैठकमा नयाँ सरकार बन्ने अवस्थामा माधव नेपाल पक्षका सांसदहरूले सामूहिक राजीनामा दिने विषयमा समेत छलफल भएको थियो ।स्पष्टीकरण सोधिएकामध्ये एमालेका कम्तिमा २० सांसदले राजीनामा दिँदा संसद्मा नयाँ सरकार बनाउन १२६ सांसद भए पुग्ने सम्भावना रहन्छ ।

‘ओलीलाई हामीले समर्थन गर्न सक्दैनौं, विकल्प खोजौं भनेर माधव नेपालले स्पष्ट कुरा राख्नुभयो,’ जसपा स्रोतले भन्यो । आफ्नो निवासमा भएको भेटमा माधव नेपाल पक्षका सांसदले राजीनामा दिने कि नदिने भन्ने विषयमा छलफल भएको जसपा अध्यक्ष उपेन्द्र यादवले बताए ।

‘केपी ओली प्रतिगमनकारी हो, उनी संघीयता, गणतन्त्र सबैको विरोधमा लागेका छन्,’ जसपा अध्यक्ष यादवले भने, ‘हामी यो प्रतिगमनकारी सरकारको विकल्प खोज्न एकमत छौं ।’ जसपाभित्र बहुमतभन्दा पनि सर्वसम्मत तरिकाले नै उक्त निर्णय गराउने आफ्नो प्रयास रहेको यादवले बताए।

‘मैले आन्दोलन गरेर संघीयता ल्याएको हो, केही साथीहरू मेरो प्रस्ताव वा मेरो राजनीतिक लाइनबाट अलग देखिनुभएको छ,’ यादवले लोकान्तरसँग भने, ‘तर, पार्टीभित्र चाहे म एक्लै भए पनि त्यसका लागि लड्ने छु, ओली सरकारको विकल्प खोज्न तयार हुनुपर्छ।’

यद्यपि त्यस विषयमा हालसम्म पार्टीले निर्णय नगरेको उनले बताए। ‘हामी पार्टीका साथीहरूसँग कुरा गर्दैछौं, पार्टीले छिट्टै बैठक बसेर उक्त कुराको निर्णय गर्नेछ,’ उनले थपे, ‘पार्टीमा सर्वसम्मतले नै निर्णय होस् भन्ने मेरो चाहना छ ।’

विश्वासको मतको प्रक्रिया शुरू भएपछि वा अविश्वासको मत परेपछि त्यसबारे पार्टीले निर्णय गर्ने उनको भनाइ छ ।

प्रतिनिधि सभामा कांग्रेसका ६१ र माओवादीका ४९ सांसद छन् ।

माधव नेपाल पक्षका कम्तिमा २० जना प्रत्यक्ष निर्वाचित सांसदले राजीनामा गरेको अवस्थामा प्रतिनिधि सभामा बहुमत पुर्‍याउन जसपाका १६ सांसदको साथ भए पुग्ने विश्लेषण गरिएको छ । समानुपातिक सांसदले राजीनामा गरेको खण्डमा भने प्रधानमन्त्री ओलीले तत्कालै अर्को सांसद नियुक्त गर्न सक्छन् ।

माधव नेपाल पक्षले सामूहिक राजीनामा दिएको खण्डमा जसपाको उपेन्द्र–बाबुराम पक्षको साथले सरकार बनाउन पर्याप्त हुने देखिन्छ । उक्त पक्षका १८ जना सांसदले ओलीविरुद्ध हस्ताक्षर गरेको बाहिर आएको थियो ।

वैकल्पिक सरकार गठनको गृहकार्य गरेका कांग्रेस, माओवादी र जसपाले आवश्यक बहुमत पुर्‍याउन सकेका छैनन् । बैठकमा उपेन्द्र यादवले नयाँ सरकार बन्ने अवस्थामा २२ भन्दा बढी सांसदको समर्थन रहने बताएका थिए । तीन नेताहरूबीच पछिल्ला दिनमा लगातार जस्तो कुराकानी भइरहेको छ ।

तीन नेताले वैशाख २७ गते अगावै प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने बारेमा समेत छलफल गरेका थिए । प्रचण्डले मंगलवार बसेको स्थायी कमिटी बैठकमा अविश्वासको प्रस्ताव ल्याउने परिस्थिति बन्दै गएको बताएका थिए ।

उपेन्द्र यादवको निवासमा तीन नेताको छलफलअघि मंगलवार साँझ धुम्बाराहीस्थित एक व्यापारीको घरमा कांग्रेस नेताहरूसहितको छलफल भएको थियो । सो छलफलमा समाजवादी पार्टीका अध्यक्ष यादवले अविश्वासको प्रस्तावको पक्षमा अगाडि बढ्न कांग्रेस र माओवादीका नेताहरूसँग आग्रह गरेका थिए ।

यसअघि वैशाख १७ गते आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस सभापति शेरबहादुर देउवाले वैकल्पिक सरकार गठनको प्रयास जारी रहेको बताएका थिए । आफ्नो पक्षमा संख्या नपुगेको बताएका देउवा मंगलवारको छलफलपछि बहुमत पुग्नेमा ‘विश्वस्त’ देखिएको स्रोतको दाबी छ ।

मंगलवार बसेको कांग्रेस पदाधिकारी बैठकले विश्वासको मतलाई असफल बनाउने निर्णय गरेको थियो । तीन दलबीच आसन्न राष्ट्रिय सभा उपनिर्वाचनमा सहकार्यको सहमति भएको छ । सहमतिअनुसार बाग्मती प्रदेशमा डा। खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाउने निर्णय भएको छ ।

माओवादीका तर्फबाट उम्मेदवार बनेपनि देवकोटा माधव नेपाल कोटाबाट उम्मेदवार बन्न लागेको स्रोतको दाबी छ । बाग्मतीमा देवकोटालाई साझा उम्मेदवार बनाउने र लुम्बिनी प्रदेशमा रिक्त भएको स्थानमा कांग्रेस उम्मेदवारलाई समर्थन गरेर अगाडि बढ्ने विषयमा छलफल भएको थियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

nine + one =