राजनीतिक झगडाका विषयमा जनतालाई न्यायाधीश बनाउनुपर्छ: प्रधानमन्त्री ओली

काठमाडौँ : मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको सु–अवसरमा आज सरकारले विशेष समारोहबीच चौधौँ गणतन्त्र दिवस मनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको पस्थितिमा सैनिक मुख्यालय जङ्गी अड्डामा दिवस मनाइएको हो । सैनिक मञ्च टुँडिखेलमा हुँदै आएको कार्यक्रम कोभिड–१९ सङ्क्रमणका कारण सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मनाइएको थियो ।

उक्त समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित मन्त्री, संवैधानिक निकायका प्रमुख तथा प्रतिनिधि, उच्च सरकारी अधिकारी तथा नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधिको सहभागिता थियो । तत्कालीन संविधानसभाले विसं २०६५ जेठ १५ गते राजतन्त्र हटाएर गणतन्त्र घोषणा गरेको दिनको सम्झनामा हरेक वर्ष आजकै दिन दिवस मनाउने गरिन्छ ।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गणतन्त्रका उपलब्धिलाई बलियो बनाउन राजनीतिक झगडा र लडाइँका मुख्य विषयमा जनतालाई न्यायाधीश बनाएर उनीहरुको अभिमतलाई सर्वोपरि मान्दै अग्रसर हुन दलका नेताहरुलाई आह्वान गरे ।

ुआफ्ना जिद्दी होइन, जनताको आवधिक मूल्याङ्कन र अभिमत नै सर्वोपरि निर्णायक हुन्,ु प्रधानमन्‍त्री ओलीले भने, निर्वाचन लोकतन्त्रको आधारभूत पक्ष हो, यसले जनादेशलाई पुनर्ताजगी गर्न र त्यसपछिको सरकारलाई सुदृढ एवं जनअपेक्षितानुसार काम गर्न उत्प्रेरित गर्दछ ।

सोही अभिप्रायका साथ नै आगामी कात्तिक २६ र मङ्सिर ३ गते निर्वाचन घोषणा गरिएको प्रधानमन्त्री ओलीको भनाइ थियो । उनले अहिले चुनाव हुँदैन कि, गराइँदैन कि भन्ने भ्रम छरिएको र चुनाव स्वतन्त्र एवं निष्पक्ष हुँदैन भन्ने निराधार कुप्रचार भइरहेकाले त्यस्तो दुष्प्रचारको भ्रममा नपर्न अनुरोध गरे । उनले सरकारले चालेका जनमुखी कदममा व्यवधान, घेराबन्दी र विरोधको सामना गरिरहनुपरेकामा चिन्ता प्रकट गरे ।

गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले जनताका लागिभन्दा सत्ताकाङ्क्षी समूहले लोकतान्त्रिक प्रणालीलाई दुरुपयोग गर्ने प्रवृत्तिको छिनोफानोका लागि निर्वाचनमा जानुपर्ने अवस्थाको सिर्जना भएको प्रस्ट्याए ।

उनले मुलुकको अमूल्य समयलाई अकर्मण्यता र अनुशासनहीनतामा खेर जानबाट रोक्न मुलुकसामु जनादेश माग्नु एकमात्र विकल्प हुन पुगेको स्पष्ट पारे । निर्वाचनले सबै दललाई जनपरीक्षण गर्ने अवसर प्राप्त भएको बताए । निर्वाचनलाई तोकिएकै समयमा स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढङ्गबाट सम्पन्न गर्ने प्रधानमन्त्रीले दृढता व्यक्त गरे।

गणतन्त्रले प्रणालीका छिद्र खोजेर कसैलाई सत्तामा चढाउने र झार्ने खेलमा समय व्यतित गर्ने नभई गरिबी र पछौटेपनको लडाइँलाई जित्नुपर्नेमा प्रधानमन्त्री ओलीको जोड थियो । उनले जनता मजबुद हुँदा लोत्रतन्त्र स्वतः मजबुद हुने उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले जनताको सार्वभौमसत्तालाई विभिन्न स्वार्थ समूहले आफ्नो नियन्त्रणमा राख्न खोज्ने प्रवृत्ति निस्तेज गरी गणतन्त्रलाई दिगो बनाउनुपर्नेमा जोड दिए । केही व्यक्ति विशेषको स्वार्थसिद्धिका लागि जनतालाई उपभोक्ता बनाई शासन अवधिको बाँडफाँड तथा उपभोगका रुपमा अथ्र्याउने विसङ्गत प्रयास गणतान्त्रिक मुलुकका लागि हानिकार हुने उनको जिकिर थियो । ुयो जनताको सार्वभौम अधिकार हो, जसलाई निर्वाचनमार्फत जनताले अभ्यास गर्दछन्ु, प्रधानमन्त्रीको भनाइ थियो । प्रधानमन्त्री ओलीले खासगरी राष्ट्रिय समस्या, महामारी जस्ता सङ्कट, राष्ट्रिय सीमाभन्दा बाहिरका विश्वव्यापी समस्याको संयुक्त प्रयासबाट सामना गर्नुपर्नेमा जोड दिए । रासस

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− one = one