बार्सिलोनाका खेलाडीले तलबको ७० प्रतिशत रकम दान गर्ने

SHARE:
  •  
  •  
  •  

एजेन्सी, १८ चैत । कोरोना भाइरस अर्थात् कोभिड-१९ ले विश्वव्यापी महामारीको रुप लिएपछि त्यसको प्रभाव संसारका सबै क्षेत्रमा परेको छ । त्यसबाट खेलकुद क्षेत्र पनि अछुतो छैन । कोरोना संकटबाट आफ्नो क्बलाई जोगाउनको लागि स्पेनिस क्लब बार्सिलोनाका खेलाडीले तलबको ७० प्रतिशत रकम दान गर्ने भएका छन् । क्लबमा काम गरिरहेका कर्मचारीहरुलाई निरन्तर पारिश्रमिक दिलाउनका लागि खेलाडीहरुले यो निर्णय गरेका हुन् ।

बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लबलाई सहयोग गर्ने उपायको खोजी गर्दा ढिला भएको बताए । एक विज्ञप्ति प्रकाशित गर्दै कप्तान मेस्सीले भने, ‘यस्तो समयमा क्लबलाई सहयोग गर्न सधैँ तत्पर छौँ । क्लबलाई सहयोग गर्न चाहन्छौँ । क्लबलाई प्रभावकारी ढङ्गले सहयोग गर्ने मौकाको खोजी गरेर मात्र घोषणा गरेका हौँ ।’

कोरोना भाइरसको महामारीले आर्थिक संकटबाट गुज्रन सक्ने अवस्थालाई नियाल्दै क्लबले खेलाडीको ७० प्रतिशत पारिश्रमिक कटौती गर्ने निर्णय गर्दा बार्सिलोनाको ‘ड्रेसिङ रुम’ विभाजित बनेको थियो । तर, पछि खेलाडीहरुले क्लबको अवस्थालाई मध्यनजर गर्दै ७० प्रतिशत पारिश्रमिक कटौतीका लागि सहमत भएका हुन् ।

अहिले स्पेनमा कोरोनाको भयवह अवस्था छ । अहिलेसम्म स्पेनाम ८७ हजार ९६५ जनामा कोरोनाको संक्रमण भइसकेको छ भने कोरोनाका कारण ७ हजार ७१६ जनाको ज्यान गइसकेको छ । यसअघि इटालियन क्लब युभेन्टसका खेलाडी र प्रशिक्षक माउरिजियो सार्रीले चार महिना पारिश्रमिक नलिने घोषणा गरेका थिए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु