नेपालमा सुनको मुल्य ह्वात्तै बढ्नुको भित्री कारण यस्तो रहेछ…

SHARE:
  •  
  •  
  •  

काठमाडौं : नेपाली बजारमा कुनै दिन सुन तोलाको एक लाख रुपैयाँ पुग्ला भन्ने शायद कतिपयले अनुमान गरेका थिए होलान्। तर यही वर्ष यति चाँडै त्यो विन्दुमा सुनको भाउ पुग्ला भन्ने अनुमान शायदै कसैको थियो। हुन त अनुमानकै कुरा गर्दा कोरोनाभाइरस महामारीले यो रूप लिन्छ भन्ने पनि थिएन।सुनको कारोबार नगन्य हुँदा पनि भाउ किन आकाशियो त?

नेपाल सुनचाँदी व्यवसायी महासङ्घको आँकडा अनुसार सन् २०२० ज्यानुअरी १ तारिखमा मा प्रतितोला ७३,५०० रुपैयाँमा बिकिरहेको सुन मङ्गलवार ९८,२०० रुपैयाँ पुगेको छ। सुन जस्तै तीव्र वृद्धि भइरहेको चाँदीको भाउ सोही अवधिमा प्रतितोला ८९० बाट १२४५ रुपैयाँ पुगेको छ। “जुन वेगमा अन्तर्राष्ट्रिय बजारमा यसको भाउ बढिरहेको छ अब केही दिनमा यहाँ यसको भाउ तोलाको एक लाख रुपैयाँ नाघ्न सक्छ,” महासङ्घका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए।

सुनमा जेलिएका मुख्य चार पक्षमा व्यवसायी, उपभोक्ता, लगानीकर्ता र सरकार हुन्छन्। सबैले सुनमा सुनौलो भविष्य वा अवसर देखेका हुन्छन्। तर विश्लेषकहरू भन्छन् यसरी भाउ अचाक्ली बढ्दा कसैलाई पनि खुशीमात्रै भएको चाहीँ छैन।

विश्वका धेरै ठाउँमा सुनको भाउ बढ्यो भने उपभोक्ताले त्यसको उपभोग नगरेर बस्न सक्छन्। तर नेपालमा सुनका उपभोक्तालाई त्यो विकल्प कहिलेकाहीँ प्राप्त हुँदैन। बिहे तथा अन्य घरव्यवहारमा सुनको प्रयोग गर्नैपर्ने अवस्थामा उपभोक्तालाई बढेको भाउले पिरोल्छ। व्यवसायीहरू चाहिँ भाउ बढ्दा घटेको कारोबारले चिन्तित छन्।

“एक वर्ष अगाडिसम्म वर्षको ८-९ हजार किलो सुन विक्री हुन्थ्यो। त्यो अहिले नगण्य भएको छ। यो लकडाउनका बेलामा शून्य सरह कारोबार भयो भने त्यसपछि केही मानिस भएका सुन विक्री गर्न आउँथे।” “तर अहिले अझै भाउ बढ्ने आशमा त्यो पनि कम भएको छ,” बज्राचार्य बताउँछन्।

उनका अनुसार सरकारको नियमले दैनिक २० किलोसम्म सुन वितरण गर्न पाइनेमा अहिले कोरोनाभाइरस सङ्कटका बेला यसको खपत घटाएर विदेशी मुद्राको सञ्चिति जोगाउने उद्देश्यले दैनिक १० किलोसम्म वितरण गर्न पाइने मन्त्रिपरिषद्ले निर्णय गरेको छ।

त्योबाहेक विदेशबाट फर्किएका नेपालीहरूले गहनाका रूपमा ५० ग्रामसम्म सुन ल्याउन पाउने नियम छ। “कारोबार नै हुन छाडेपछि यी सिमाको पनि अर्थ रहन छाडेको छ,” उनले भने। लगानीकर्ताको हकमा भने सुनको भाउ अचाक्ली बढ्नु भनेको अवसर र चुनौती दुवै हो। सरकारको लागि पनि सुनको भाउ टाउको दुखाइ बन्न सक्छ।

“सुन भनेको गैरवित्तीय सम्पत्ति हो जुन अनुत्पादक मानिन्छ। यसमा मानिसहरूले फाइदा देखेर लगानी गर्न थाले भने त्यो राम्रो हुँदैन,” नेपाल राष्ट्र ब्याङ्कका पूर्व डेपुटी गभर्नर तथा अर्थतन्त्रका जानकार कृष्णबहादुर मानन्धरले बताए। “नेपालजस्तो देशका लागि त झन् यदि मानिसमा सुनमा पैसा लगाउँदा हुँदो रहेछ भन्ने पर्‍यो भने त्यसले विदेशी मुद्राको सञ्चिति पनि घटाइदिन्छ।”

“अहिले हामीकहाँ ब्याङ्कमा पैसा राख्दा थोरै ब्याज आउँछ त्यसैले थोरै ब्याजको लोभ पनि थोरै हुन्छ अनि मानिसहरूले सुनमा पो लगानी गर्नु पर्ने रहेछ भन्ने सोच्न सक्छन्। यसले अर्थतन्त्रलाई राम्रो गर्दैन,” मानन्धरले व्याख्या गरे। राष्ट्र ब्याङ्कको आँकडा अनुसार गत वर्षको ११ महिनामा ३१ अर्ब रुपैयाँ बराबरको सुन आयात भएकोमा असारमा सकिएको अघिल्लो आर्थिक वर्षको सोही अवधिमा त्यो ५६ प्रतिशतले घटेर १३ अर्बमा झरेको छ।

यो प्रश्नको उत्तर छोटकरीमा भन्दा कोरोनाभाइरस हुन्छ। कोरोनाभाइरसको विश्वव्यापी महामारीले उत्पन्न गराएको आर्थिक मन्दी, अर्थतन्त्रबारे व्याप्त संशय र अनिश्चय, चीन र अमेरिकाबीचको बढ्दो तिक्तताका त्रास आदि सबै कारणले गर्दा अहिले विश्वमा लगानीकर्ताहरूको मन विथोलिएको छ।

जब जब लगानीकर्ताहरू के गर्ने र कसो गर्ने मनस्थितिमा पुग्छन् तब तब उनीहरूलाई यो पहेँलो धातु नै प्रिय लाग्ने गर्दछ। “हामीले विगतको अनुभव हेर्‍यौँ भने जब पश्चिमा देशका अर्थतन्त्रमा समस्या हुन्छ तब लगानीकर्ताको रोजाइमा सुन पर्छ। त्यसैले सुनमा लगानी थुप्रँदा यसको भाउ बढ्ने गर्छ।”

“अहिले पनि महामारीका कारण अमेरिकी अर्थतन्त्र र उसको मुद्रा पनि चापमा परेको छ। यही बेला सुनको भाउ बढिरहेको छ,” मानन्धरले बताए। यो बढिरहेको भाउ कहाँ पुगेर स्थिर हुन्छ वा घट्न थाल्छ भन्ने अझै प्रस्ट छैन। त्यसका लागि विश्व अर्थतन्त्रको तस्बिर पहिले प्रस्ट हुनुपर्ने देखिन्छ।

Comments

comments

सम्बन्धित शीर्षकहरु