
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बाढीबाट क्षतिग्रस्त सिन्धुपाल्चोकका विभिन्न ठाउँको निरीक्षण गर्न आज त्यसतर्फ जाँदैछन्।
बाढीले क्षति पुर्याएको मेलम्ची खानेपानी आयोजना लगायत सिन्धुपाल्चोकका विभिन्न ठाउँ र बस्ती निरीक्षण गर्न प्रधानमन्त्री नेपाली सेनाको हेलिकप्टरमार्फत सिन्धुपाल्चोक जान लागेका हुन्। उनी बिहान १० बजे त्यसतर्फ जाने कार्यक्रम तय भएको छ।
ओलीले मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढीले पु–याएको क्षतिको साथै हेलम्बु गाउँपालिकाको बाढीपहिरो प्रभावित विभिन्न ठाउँको हवाइ निरीक्षण गर्नेछन्। प्रधानमन्त्रीबाट पीडितलाई राहत वितरण तथा घोषणाको कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले प्रधानमन्त्रीबाट सिन्धुपाल्चोकको विभिन्न स्थानमा हुने निरीक्षणको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए। मेलम्ची बजार र हेलम्बुको गणेश बगरमा आयोजना गरिने कार्यक्रममा प्रधानमन्त्री ओलीको सहभागिता रहने उनले बताए।
पोखरेलका अनुसार कार्यक्रममा प्रधानमन्त्रीसँग बाढीपहिरो पीडित, जनप्रतिनिधि, राजनीतिक दलका नेता कार्यकर्तासँग अन्तरक्रिया कार्यक्रमसमेत तय गरिएको छ। प्रधानमन्त्रीले सोही अवसरमा राहत र पुनर्निर्माण प्याकेजको घोषणा गर्ने कार्यक्रम तय भएको हो।
त्यसैगरी, जिल्ला विपद् व्यवस्थापन समितिले बाढीपहिरोबाट जिल्लामा भएको क्षतिबारे प्रधानमन्त्रीलाई जानकारी गराउने छ।
यही असार १ गते आएको बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनाका साथै सिन्धुपाल्चोकका मेलम्ची, हेलम्बुलगायत विभिन्न ठाउँमा क्षति पुर्याएको छ।