कैलाली । कैलालीमा अन्तरजातीय विवाह गरेका एक जोडीलाई कुटपिट गर्दै गत वर्ष वैशाखमा घटेको रुकुमकाण्ड दोहोर्याइदिने भन्दै युवतीका आफन्तले धम्की दिएका छन् । कैलाली भजनी नगरपालिका ४, झलझलियाका प्रकाश विश्वकर्मा र मालती रावलले ४ असारमा विवाह गरेका थिए ।
विवाहपछि युवतीका आफन्तले युवकलाई मार्ने धम्की दिएपछि ज्यान जोगाउन उनीहरू २१ दिनजति जंगलमा लुके । शुक्रबार उनीहरूले सामाजिक सञ्चालमार्फत भिडियो सार्वजनिक गर्दै आफूहरूलाई बचाउन आग्रह गरेका छन् ।
भिडियोमा युवती भन्छिन्, ‘जबर्जजस्ती विवाह भनेर मुद्दा हालिरहेका छन् । हामी जबर्जस्ती भनेर आको होइन, आफ्नै मनले विवाह गरेर आएको हो, तैपनि घरका सदस्यहरू मानिराका छैनन् । हामी दुई माया गरेर आको, मेरो पेटमा नि बच्चा छ ।’
उनीहरु एक वर्षअघिदेखि प्रेमसम्बन्धमा रहेका थिए । युवतीको पेटमा एक महिनाको गर्भ रहेको उनीहरूले जानकारी दिएका छन् । युवक प्रकाशका अनुसार युवतीको परिवारले मार्ने, काट्ने धम्की दिइरहेका छन् ।
युवतीका एक आफन्तले रुकुम काण्ड दोहोर्याउने धम्की नै दिए उनले बताएका छन् । युवकले पठाएको म्यासेजको स्क्रिनसटमा युवतीका आफन्तले ‘डुमिनी’ भन्दै गाली गर्दै रुकुम काण्ड दोहोर्याउने धम्की दिएका हुन् ।
युवतीको परिवारले युवकको परिवारलाई बारम्बार धम्की दिएपछि प्रकाश र मालती आज दिउँसो मात्र जंगलबाट घर फर्किएका थिए । ‘घरकालाई नै मार्छौं भनेपछि हामी आज मात्र घर गएका थियौँ,’ प्रकाशले भने, ‘घरमा पनि बुबा मुटुको रोगी हुनुहुन्छ ।’
घर पुगेलगत्तै युवतीका आफन्तले युवतीलाई कुटपिट गर्दै लगेका छन् । २० वटाजति मोटरसाइकल र गाडीमा आएका युवतीका आफन्तले युवकलाई कुटपिट पनि गरेका छन् ।
जंगलबाटै ज्यान बचाउन आग्रह गर्दै भिडियो सार्वजनिक भएपछि नगरपालिकाले उनीहरूलाई घर फर्काउन प्रहरीलाई आग्रह गरे । आफ्नो इच्छाले विवाह गरेको जोडीलाई जातीय विभेदको सिकार हुन नदिने नगरपालिकाले प्रतिवद्धता जनाएका छन् ।https://www.facebook.com/vijay.bk.54/videos/534903550893397