
काठमाडौं-हिन्दू परम्परानुसार मलमासको अवधिमा शुभ कार्य गर्न नहुने धर्मशास्त्रका विज्ञले बताएका छन् । बिहीबार अपरान्ह ४ः५९ बजेदेखि शुरु भएको मलमास असोज ३० गते राति १ः५३ बजेसम्म रहनेछ । सो अवधिमा कुनै पनि नयाँ कार्यको थालनी गर्न नहुने उनीहरुको भनाइ छ ।
ज्योतिषीय गणनाअनुसार ३६५ दिनको वर्ष हुन्छ । वर्षमा सौर र चान्द्रमास हुन्छन् । दुवैलाई समन्वय गर्न ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा मलमास वा अधिकमास आउँछ । एउटा औँसीदेखि अर्को औँसीसम्म सङ्क्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिकमास भनिन्छ ।
अधिकमास (मलमास) मा के गर्ने ? के नगर्ने ?
मलमास अर्थात् अधिकमासमा नित्य कर्म पूजा, पाठ, जप, ध्यान गर्नुहुन्छ। नित्य बसिरहेको व्रत गर्नुहुने विभिन्न शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए। पहिल्यैदेखि गर्दै आएको व्रतलाई नियमितता दिन हुने तर नयाँ व्रतको शुरुआत् गर्नु नहुने नियम छ।
मलमासको समयमा महादान, माङ्गलिक कार्यअर्थात् विवाह, व्रतबन्ध, गृहनिर्माण, गृहप्रवेशजस्ता गर्नु हुँदैन। यसैगरी गर्भाधान गर्नुहुँदैन, पहिले नै गर्भ रहेको भए दोष लाग्दैन। नवविवाहित श्रीमान् श्रीमतीले मलमासलाई छल्नुपर्छ भन्ने परम्परा पनि गर्भाधान गर्नुहुँदैन भन्ने मान्यतामै आधारित रहेको धर्मशास्त्रविद्को भनाइ छ। बृहस्पति र शुक्र अस्त भएका बेला गर्न नहुने जति कर्म मलमासमा पनि गर्नुहुँदैन।