नेपाली महिला क्रिकेट टोलीले पहिलोपटक एसिया छनोट पार गरी विश्वकप छनोटमा स्थान बनायो।

५ जेठ, काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले पहिलोपटक विश्वकप छनोटको एसिया छनोट पार गर्दै ग्लोबल छनोटमा स्थान बनायो । समूह चरणबाट भाग्यमानी साबित भएर अगाडि बढेको नेपालले त्यसलाई पूर्णरूपमा न्याय दिँदै यूएईलाई महत्वपूर्ण खेलमा हराएर विश्वकप यात्रामा एक ठुलो फड्को मार्दै ग्लोबल छनोटमा पुग्यो ।

यसअघि एसिया छनोटभन्दा अगाडि बढ्न नसेकको नेपाली टोलीले यसपटक भने चिरपरिचित प्रतिद्वन्द्वी यूएईलाई नै पाखा लगाउँदै ऐतिहासिक सफलता हात पारेको हो नेपालको अब ग्लोबल छनोटमा थप स्तरीय टिमहरूसँग भेट हुने पक्का छ । त्यसका लागि टोलीले अझै मेहेनत र लगनशीलताका साथ प्रदर्शनमा सुधार गर्दै जानुपर्ने कुरा त अवश्य नै छ ।

हालका लागि भने नेपालले वर्षाले प्रभाव पारिरहेको प्रतियोगितामा भाग्यको साथ पनि पाउँदा त्यसमा मेहेनतको रंग पनि भर्‍यो र पहिलोपटक एसिया छनोट पार गर्ने सपनालाई साकार गरेको छ

लामो समयको प्रतीक्षा
नेपाली महिला क्रिकेटमा सुरुवातदेखि नै देखिँदै आएको एउटा सपना हो- विश्वकप खेल्नु । त्यसका लागि सुरुवाती समयमा सम्बन्धित निकाय तथा राज्यबाट त्यति साथ नपाउँदा पनि महिला क्रिकेटले आशा भने देखाइरहेको अवस्था थियो ।सन् २००७ देखि सुरु भएको नेपाली महिला क्रिकेटको उमेर समूहमा विश्वकपको ढोका यसअघि नै खुलिसकेको थियो जब यू-१९ टोलीले २०२५ को सुरुवातमै विश्वकप खेलेको थियो, जसको नेतृत्व गरेकी थिइन् पुजा महतोले । पुजा हाल सिनियर टिमकी उपकप्तान हुन् ।

उमेर समूहले विश्वकप खेलेपनि सिनियर टोलीले सन् २०१६ देखि खेल्न थालेको विश्वकप छनोटमा हालसम्म एसिया चरणको छनोट पनि पार गर्न नसकेको अवस्था थियो । तर यसपटक भने लामो समयको प्रतीक्षापछि महिला टोलीले पहिलो छनोट चरण पार गरेको छ ।

सन् २०१६ मा थाइल्याण्डसँको हारले छनोट नभएको नेपाल सन् २०१७ मा तेस्रो भएर अघि बढ्न सकेको थिएन। सन् २०१९ मा लिग चरणमा खेलाइएको एसिया छनोटबाट थाइल्याण्ड अपराजित रहँदै ग्लोबल चरणमा अघि बढेको थियो । नेपाल त्यस प्रतियोगितामा पनि थाइल्याण्डसँग मात्र पराजित भयो ।

त्यस्तै सन् २०२१ को छनोटमा हङकङ र यूएईसँग पराजित हुँदा यूएई अपराजित रहँदै अगाडि बढेको थियो भने सन् २०२३ मा भएको छनोटको सेमिफाइनलमा थाइल्याण्डसँग पराजित हुँदै नेपाल ग्लोबल छनोटबाट वञ्चित भएको थियो । यसपटक भने नेपालले यूएईलाई नै हराएर अघि बढ्यो ।

कप्तान इन्दु बर्माले पनि सोमबार यूएईलाई हराएपछि यो ऐतिहासिक क्षण भएको उल्लेख गरिन् । ‘यो हाम्रो महिला क्रिकेटमा ऐतिहासिक क्षण हो, सबैको मेहेनतको प्रतिफल हो’ उनले भनिन् ।

प्रशिक्षक मनोज कटुवालले यो जित समग्र नेपालीहरूको पनि भएको बताउँदै यो समर्थन आगामी दिनहरूमा पनि कायम राख्न आग्रह गरे । ‘सबै खेलाडीहरूको मेहेनतको फल प्राप्त भएको छ, यसमा साथ दिने सपोर्ट स्टाफ, अफिसियल तथा क्यानलाई धेरैधेरै धन्यवाद’ उनले भनेका छन् ।हुन पनि हो, यसअघि एसिया छनोटमै स्तब्ध हुने गरेकोमा यसपटकको सफलताले भने समर्थकदेखि पूर्वप्रशिक्षकसम्म उत्साहित छन् र विश्वकप खेल्नेबारे सपना फेरि उजागर गर्न थालेका छन् ।

यसअघि नेपाली टोलीको प्रशिक्षक रहिसकेका जगत टमाटा पनि यस सफलताले निकै खुसी लागेको बताउँछन् । ‘जुन् हिसाबले यसपालि खेलेको छन्, मलाई एकदमै खुसी लागेको छ आफैं पनि प्रशिक्षक रहिसकेको हुनाले यो सफलताले धेरै खुसी छु’ उनले भने, ‘खेलाडीहरूलाई हृदयदेखि बधाइ दिन चाहन्छु।’

यसअघि सन् २०२१ मा उनी प्रशिक्षक रहँदा यूएईसँगको खेल वर्षाले रोकिँदा नेपाली टोली अघि बढ्न नसकेको स्मरण गर्दै उनले भने, ‘अघिल्लोभन्दा अघिल्लोपटक म प्रशिक्षक रहँदा यूएईसँग हार्टब्रेक भएको थियो, मलाई त्यसबेला खेलाडीहरू रोएको अझै पनि याद छ, त्यही टोलीले अहिले गएर यो सफलता हात पारेको छ म त एकदमै खुसी।’

नेपालको यो सफलतामा कप्तान इन्दुको प्रदर्शन तारिफयोग्य रह्‍यो । उनले नेपालका लागि महत्वपूर्ण खेलमा म्याच विनिङ पारी खेल्दै जितको आधार नै तय गरिन् ।कप्तान इन्दुले अविजित ३० रन बनाएपछि युएईले दिएको ११५ रनको लक्ष्य नेपालले ३ बल अगावै ५ विकेट गुमाएर भेट्टाएको थियो । उनले नेपालको जितमा विजयी रन समेत जोडिन् ।

युएई विरुद्ध मात्र नभएर इन्दुले समूह चरणमा बहराइनविरुद्ध पनि ‘मस्ट विन’ म्याचमा टिम संकटमा रहेका बेला कप्तानी इनिङ्स खेलेकी थिइन् । जहाँ उनले ७ बलमा अविजित २४ रन बनाउँदै नेपाललाई जिताएकी थिइन् ।यस छनोट प्रतियोगितामा कप्तान इन्दु नेपालबाट सर्वाधिक रन बनाउने खेलाडी समेत हुन् । उनले चार खेलमा ७० रन बनाएकी छिन् । उनी नेपालले खेलेका चारवटै खेलमा नटआउट छिन् ।

यो सफलताले नयाँ पुस्तालाई प्रेरणा प्रदान गर्ने कप्तान इन्दुले बताइन् । ‘यो सबै खेलाडीले गरेको मेहेनतको प्रतिफल हो, यो सफलताले आगामी दिनमा युवा पुस्तालाई क्रिकेटमा भविष्य निर्माण गर्नका लागि हौसला नै प्रदान गर्छ’ उनले भनिन् ।

उनले अब थाइल्याण्डसँगको अन्तिम खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै एसिया छनोटको च्याम्पियन नै बनेर फर्कने प्रतिबद्धता व्यक्त गरेकी छन् । ‘अब हामीलाई हार्नका लागि केहि पनि छैन त्यसकारण त्यही हिसाबले पोजिटिभ खेल खेल्ने छौं’ उनले भनिन् ।नेपाली महिला क्रिकेट टोलीले यस छनोट प्रतियोगिता खेल्नुअघि विभिन्न टोलीहरूसँग शृंखला खेलेको थियो भने अन्तिम अभ्यास भारतमा पनि गरेको थियो ।

थाइल्याण्ड, नेदरल्याण्ड्स, युगाण्डा, नामिबियालगायतको टोलीसँग नेपालले शृंखलाहरू खेलेको थियो । शृंखलामा जितको संख्या न्यून भएपनि त्यसबाट प्राप्त एक्सपोजरले नेपाली क्रिकेटले आवश्यक ठाउँमा राम्रो प्रदर्शन गरेर सफलता हासिल गर्‍यो ।

पूर्वप्रशिक्षक टमाटाले पनि यो एक्सपोजर महिला क्रिकेट टोलीले पाउँदा सकारात्मक नतिजा आएको बताए । ‘क्यानलाई पनि धन्यवाद दिनुपर्छ जुन हिसाबको एक्सपोजर दिलाएको छ टोलीलाई, त्यो धेरै महत्वपूर्ण हुन्छ’ उनले भने ।

‘युगाण्डासँग खेल्यो, थाइल्याण्डसँग खेल्यो, भारतमा पनि गएर खेल्यो त्यसले राम्रो एक्सपोजर पाएको छ’ उनले अगाडि थपे, ‘खेलाडीहरूले पनि धेरै मेहेनत गरेका छन् र त्यसले अब नयाँ नयाँ अवसरहरू अझै पनि प्राप्त गर्दै गएका छन्।’

अबको यात्रा कस्तो
नेपाली महिला क्रिकेट टोलीले अब ग्लोबल छनोटमा थप स्तरीय टोलीहरूको सामना गर्नेछ । बंगलादेश, स्कटल्याण्डजस्ता टोलीहरू पनि छनोटमा हुनेछन् भने अमेरिका र थाइल्याण्ड हालसम्म ग्लोबल छनोट खेल्ने पक्का भएका टिम हुन् ।

यूरोपबाट आयरल्याण्ड र नेदरल्यााण्ड्स, अफ्रिकाबाट युगाण्डा, जिम्बाबे, नामिबियालगायतका टोली पनि ग्लोबल छनोटमा आउने सम्भावित टोलीहरू हुन् । ग्लोबल छनोटबाट चार टोलीले विश्वकपको टिकट काट्ने छन् ।त्यसकारण नेपाललाई अर्को चरणमा उच्च स्तरको प्रदर्शनको आवश्यकता रहनेछ । त्यसका लागि थप एक्सपोजरसँगै खेलाडीहरूको मेहेनत पनि त्यति नै महत्वपूर्ण हुन्छन् ।

पूर्वप्रशिक्षक टमाटाले पनि अबको यात्रा चुनौतीपूर्ण हुने र अवसर पनि सिर्जना हुने बताउँछन् । ‘च्यालेन्ज त छ नै हाम्रो लागि तर महत्वपूर्ण कुरा भनेको राम्रो क्रिकेट खेल्नुपर्‍यो । अन्तिमसम्म हरेस नखाइकन जसले राम्रो खेल्छ उसले नै खेल जित्ने हो’ उनले भने ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

forty two ÷ = seven