नेकपा माओवादी केन्द्रका ४१ वडामा निर्विरोध अधिवेशन सम्पन्न

सिमकोट । पार्टीको तल्लो संरचना गठन गरिरहेको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको ४१ वटा वडामा निर्विरोध नेतृत्व चयन भएको छ।

जिल्लाका सात वटा गाउँपालिकाका ४४ वटा वडामध्ये ४१ वडा अधिवेशनमा नेतृत्व चयन भएको हो।

माओवादी केन्द्रका हुम्ला जिल्ला इन्चार्ज विजय भण्डारीले पार्टीलाई एकीकृत र संगठित गर्दै तीन वटा वडाबाहेक बाँकी सबैमा सर्वसम्मत नेतृत्व चयन भएर अधिवेशन सम्पन्न भएको जानकारी दिए।

कात्तिक ४ गतेबाट उक्त पार्टीको वडा अधिवेशन सुरु भएकामा सोमबार बिहानसम्म चयन भएका वडा कमिटी हुन्। उनले कात्तिक ४ गते अधिवेशन उद्घाटन भए पनि सोमबारसम्म ४१ वटा वडामा अधिवेशनले वडा कमिटी गठन गरेको उल्लेख गरे।

केही वडामा आकांक्षी बढी भएका कारण वडा कमिटी गठनमा ढिलाइ भएको बताउँदै अन्ततः पार्टीका नेता–कार्यकर्ताको सामूहिक प्रयासले सर्वसम्मत नेतृत्व चयन भएको उक्त पार्टीले जनाएको छ।

अब अधिवेशन हुम्लाका बाँकी वडामा खार्पुनाथ–४ र चंखेली –६ को मेल्छाममा सोमबार सुरु हुनेछ भने नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीमा भने वडा अधिवेशन हुने छैन। लिमीमा माओवादी केन्द्रको मात्र होइन, यसअघि अधिवेशन सम्पन्न भएका नेपाली कांग्रेस र एमालेको पनि हुन सकेको थिएन।

उनले पार्टीको विधानमा २० प्रतिशत युवा समेट्ने व्यवस्था गरे पनि कम्तीमा ३० प्रतिशत युवा पार्टी कमिटीमा आएको जनाएका छन् । उक्त पार्टीले चंखेली–३ मा असौजे बिक र अदानचुली –४ मा वीरेन्द्र सुनार वडा कमिटीको अध्यक्षमा चयन भएको जनाएको छ।

केन्द्रीय सदस्यसमेत रहेका भण्डारीले यसबाहेक वडामा सदस्य संख्याका आधारमा २ प्रतिशत दलित सदस्य थपिएर कमिटी गठन भएको बताए।

त्यसैगरी, अधिवेशन सम्पन्न वडामा ३५ प्रतिशत महिला कमिटीमा छनोट हुन सफल भएको सो पार्टीले जनाएको छ। पहिलो पटक पार्टीको तल्लो कमिटीमा महिला सहभागिता धेरै भए पनि एक जना महिला पनि नेतृत्वमा आएका छैनन्।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eight ÷ 1 =