दूरी घटाउने प्रयासमा प्रधानमन्त्री र सभामुख

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच आइतबार भेटवार्ता भएको छ । बिहान ११ बजेदेखि बालुवाटारमा भएको भेटवार्ता करिब १ बजेसम्म चलेको थियो । सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेका अनुसार आजको बैठक संसदलाई कसरी प्रभावकारी बनाउने र अड्किएर बसेका महत्त्वपूर्ण विधेयकहरु कसरी अगाडि बढाउने भन्ने विषयमा केन्द्रीत रहेको थियो । पुनःस्थापनापछि संसद बैठक कार्यसूची अनुसार अघि बढ्न सकेको छैन भने सरकारले पनि संसद्लाई बिजनेस दिन सकेको छैन ।

संसद्लाई प्रभावकारीरुपमा अघि बढाउन सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाउने तयारी पनि गरेका छन् । आजको बैठकमा सापकोटाले सो विषयमा प्रधानमन्त्री केपी ओलीलाई जानकारी गराएका छन् ।

दूरी मेटिने आशा

प्रधानमन्त्री र सभामुखबीच लामो समयपछि भएको भेटवार्तालाई कार्यपालिका र व्यवस्थापिकाबीचको दूरी घटाउने प्रयासको रुपमा हेरिएको छ । पछिल्लो पटक भदौको दोस्रो साता प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता भएको थियो । अध्यादेश ल्याएर सरकारले संवैधानिक पदहरुमा नियुक्ति गरेपछि दुई निकायबीच द्वन्द्व शुरु भएको थियो । सरकारले संसद् विघटन गरेपछि कार्यपालिका र व्यवस्थापिकाबीचको द्वन्द्व उत्कर्षमा पुग्यो । अध्यादेश ल्याएर सरकारले संवैधानिक पदमा गरेको नियुक्तिको विरोधमा सभामुखले सर्वोच्च अदालतमा मुद्दा नै दायर गरेका थिए ।

प्रधानमन्त्री र सभामुखबीचको द्वन्द्वको असर पुनःस्थापित संसद्मा देखिएको थियो । सरकारको चाहनाअनुसार सभामुखले संसद् बैठकलाई अघि नबढाउने र सरकारले पनि संसद्लाई बिजनेस नदिएर प्रभावहीन बनाउने स्थिति पैदा भएको थियो । आजको भेटघाटले संसद्को ‘डेडलक’ लाई अन्त्य गर्ने आशा बढाएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

88 − = eighty three