काठमाडौं। श्वेताश्री फाउण्डेशनमार्फत् सिन्धुपाल्चोकको इन्द्रावती नदी किनारका माझीका लागि एकीकृत बस्ती निर्माण भइरहेको छ। तर आर्थिक अभावका कारण निर्माण सम्पन्न हुन सकेको छैन। फाउण्डेशनकी अध्यक्ष तथा अभिनेत्री श्वेता खड्काले ३२२ जनाका लागि ५३ घर निर्माण गरिरहेकी छिन्। लामो समय बितिसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन। भर्खरै धनगढीका विजयेन्द्रसिंह रावतसँग वैवाहिक बन्धनमा बाधिएकी उनी पछिल्लो समय भने विवादमा मुछिएकी छिन्। माझी बस्तीका स्थानीयले उनीमाथि विभिन्न आरोप लगाएका छन्। तीन वर्षअगाडि उनकै अगुवाइमा निर्माण शुरु गरिएको उक्त बस्ति अझै सम्पन्न नगरेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्।
श्वेताले आफ्नो चरित्र हत्या गर्न तथा अफवाह फैलाउने काम भएको बताएकी छिन्। पुनर्निर्माण प्राधिकरण, बाग्मती प्रदेश सरकारलगायतका सरकारी निकाय र विभिन्न बैकिङ्ग संस्था, मनकारी दाता तथा सहयोगी व्यक्तिसँगको हातेमालोले आज उक्त बस्ती निर्माणको अन्तिम चरणमा पुगेको बताइन्। श्वेताले माझी बस्ती निर्माणबाट हात झिकिन् भन्दै भ्रामक समाचार आइरहेको उनको भनाइ छ।
“मैले यसलाई माझी बस्ती र मबीचको भावनात्मक सम्बन्धलाई चुँडाल्न खोज्ने कुटिल चालको रूपमा लिएको छु,” उनले भनेकी छिन्, “माझी बस्तीभित्रका केही व्यक्तिहरूलाई क्यामेराअगाडि उभ्याएर ‘श्वेताले भूकम्पबाट ढलेको बस्तीलाई उठाएर महापाप गरिछ’ भन्ने सन्देश प्रवाह गर्न खोजिनुलाई मैले अनौठो रूपमा लिएकी छैन, किनकि राम्रो भित्र नराम्रो खोतल्ने हाम्रो संस्कार नै हो।”
माझी बस्तीभित्रै रहेर पनि बस्ती निर्माणको कार्यमा असहयोग गर्ने, विभिन्न कृत्रिम समस्याहरू खडा गरेर अगुवा युवाहरूलाई हतोत्साहित गर्ने काम भइरहेको उनको भनाइ छ। “टोलका सबै मान्छेले मेहनतको पसिना चुहाउँदै गर्दा इट्टाको एउटा टुक्रासमेत नबोक्ने दुईचार व्यक्तिहरूलाई छानीछानी अन्तर्वार्ता लिएर एकीकृत बस्ती विकासको कार्यलाई थकाउने, गलाउने र असफल बनाउने प्रयासहरू हुँदै छन्,” उनले भनेकी छिन्।
श्वेताश्री फाउण्डेशनको नाममा पैसा उठाएर विलासी जीवन बिताउने व्यक्तिहरूलाई समेत देखेको उनको भनाइ छ। “मलाई फाउण्डेशनको नाममा पैसा उठाएर त्यस्को गलत प्रयोग गरेको प्रमाणित गर्छ, त्यो प्रमाणित भएकै दिन जुत्ताको मालासहित कालो मोसो दलेर माझी बस्ती परिक्रमा गर्न तयार छु,” उनले भनिन्। बस्ती निर्माणको काम रोक्किँदै गर्दा व्यक्तिगत ३२ लाख दिएर काम सुचारु गरेको उनको भनाइ छ।
बस्ती निर्माणका क्रममा आएका कैयन् बाधाहरूसँग नडराई अनि हरेस नखाई अगाडि बढिरहेको भन्दै उनले भनिन्, “जीवनमा कसैससँग हात फिजाएर भीख नमाग्ने प्रण गरेकी मैले माझीटोलको लागि हात फैलाएकी छु। सहयोगको अपिल गरेकी छु, तर आजका दिनसम्म कोही कसैलाई जबर्जस्ती गरेर सहयोग दिन लगाएकी छैन।”
घर निर्माणको लागि प्राविधिकहरूले तयार गरेको अनुमानित आठ लाख २५ हजार रूपैयाँ थियो। केही दाताहरूले ढोकालगायत जस्तापाता सहयोग गर्ने प्रतिबद्धता दिएअनुरूप सो सामाग्रीको मूल्य कटाएर सात लाखमा बनाउन सकिन्छ भनी अन्तिम लागत निर्धारण गरिएको थियो। सरकारी अनुदानबाहेक अन्य नपुग रकम चार लाख रूपैयाँ ऋणस्वरूप लक्ष्मी बैंकबाट लिने भनेर स्थानीय उपभोक्ता समितिमार्फत् नै सहमति भएको उनले प्रष्ट पारेकी छिन्।
बन्दै गरेको माझी बस्तीलाई सम्पन्न गर्नु आफ्नो धर्म र कर्म रहेको उनको भनाइ छ। आफूले गरेको अपिलअनुसार आर्थिक सहयोग नजुटे पनि बस्ती निर्माणको जिम्मेवारी आफ्नै काँधमा रहेको उनको भनाइ छ। “म मेरो जिम्मेवारीबाट विमुख हुनेछैन। ‘माझी टोलबाट हात झिकी’ भन्नेहरूलाई म एउटै सन्देश प्रवाह गर्न चाहन्छु,” उनले भनिन्, “जबसम्म मेरो श्वास चलिरहन्छ, माझी बस्ती मेरो मन मस्तिष्कबाट हट्नेछैन। मेरो अन्तिम इच्छा म मर्दा मेरो लाशको चिता पनि माझी बस्तीको आँगनमा रहेको इन्द्रावती बगरमा बनाइयोस् र मेरो अन्त्येष्टी त्यहीँ गरिओस्।”