काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिएको निर्देशन मान्न बाध्य नहुने प्रतिक्रिया दिएकी छन्। शुक्रवार बसेको एमालेको केन्द्रीय समिति बैठकमा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन तीन दिने अल्टिमेटम दिएका थिए।
एमाले नेता झाँक्रीले उक्त निर्देशन मान्न आफूहरू बाध्य नहुने प्रतिक्रिया दिएकी हुन्। उनले अवैध कमिटीले दिएको अल्टिमेटको कुनै अर्थ नरहेको बताइन्। एमालेले १० औं महाधिवेशन आयोजक कमिटी भंग गर्दै २०७५ जेठ २ को अवस्थामा पार्टी फर्किएको घोषणासहित शुक्रबार केन्द्रीय समितिको १३ औँ बैठक डाकेको थियो।
तर, पार्टीको असन्तुष्ट पक्ष माधवकुमार नेपाल समूह उक्त बैठकमा सहभागी भएन। नेपाल समूहले यथास्थितिमा केन्द्रीय समिति बैठक डाकिएको र उक्त कमिटी अवैध रहेको भनेको छ। ‘ओली कमरेड रहेको त्यो कमिटीलाई सर्वोच्च अदालतले अवैध भनिसकेको छ। अवैध कमिटीले दिएको अल्टिमेटम मान्न बाध्य छैनौं।
तीन दिने अल्टिमेटको कुनै अर्थ छैन,’ झाँक्रीले भनिन्, ‘अस्ति बसेर आयोजक कमिटीको नाम फेरेर केन्द्रीय कमिटी नाम दिनुभएको छ। त्यो अवैध कमिटीले दिएको निर्देशन मान्न बाध्य हुँदैनौं। हामीसहित कमिटी नै एमालेको कमिटी हो।’
माधवकुमार नेपालसहित बसेर गरेको केन्द्रीय कमिटीको निर्णय सहमतिरअसहमति जे भए पनि मान्न भने बाध्य हुने झाँक्रीले बताइन्। ‘हामीसमेत बसेर निर्णय गरे पो मान्न बाध्य हुने थियौं। बैठकमा असहमति राख्न सकिन्छ, निर्णय भएपछि मान्न बाध्य हुने थियौं,’ झाँक्रीले भनिन्। तर, अध्यक्ष ओलीले नेपाल पक्षले दुई दिनभित्र हस्ताक्षर फिर्ता नलिए त्यसैलाई पार्टी फुट मान्ने चेतावनी दिएका छन्।