युरोकपको क्वाटरफाइनलमा बेल्जियम र इटली भिड्दै ! कस्ले मार्ला बाजी ?

काठमाडौं । युरोकपअन्तर्गत आज राति हुने दोस्रो क्वाटरफाइनल खेलमा बेल्जियम र इटली भिड्दैछन् । उपाधि दाबेदारसमेत मानिएका दुवै टिमको खेल नेपाली समयअनुसार राति १२ः४५ बजे जर्मनीको म्युनिख एरेनामा शुरु हुनेछ ।

बेल्जियम र इटली दुवैले युरोकप २०२० को छनोट चरणमा शतप्रतिशत जित हात पारेका छन् । दुवैले छनोटमा खेलेका १० वटै खेल जितेका थिए । जारी युरोकपको समूह चरणमा पनि दुवैले खेलेका तीनवटै खेल जिते । अझ इटलीले कुनै पनि गोल बेहोरेन ।

फिफा वरीयतालाई हेर्ने हो भने बेल्जियम अहिले विश्व फुटबलको नम्बर वान टिम हो । अनि इटली सन् २०१८ सेप्टेम्बर यता अपराजित छ र अपराजित खेलको यात्रालाई ३१ पुर्‍याएको छ ।

दाबेदारमध्येको एक टिम यही चरणबाटै घर फर्कनुपर्ने हुन्छ । त्यसैले यो खेल प्रतिक्षित बनेको छ । जित्ने टोली सेमिफाइनल पुग्नेछ भने पराजित हुने टोलीले घर फर्कनुपर्नेछ ।

यस खेलको विजेताले स्वीट्जरल्याण्ड र स्पेनबीचको खेलको विजेतासँग खेल्नेछ ।

इटली एक पटकको च्याम्पियन टिम हो । बेल्जियमको टिम पछिल्लो समय गोल्डेन जेनेरेसनको रुपमा चर्चित छ र यही समयमा केही जित्न चाहन्छ । तर कप्तान इडेन हाजार्ड र केभिन डे ब्रुएनेको चोट बेल्जियमको लागि सुखद छैन । अन्तिम १६ मा पोर्चुगलविरुद्धको खेलमै दुवै खेलाडी घाइते हुँदै मैदान छाडेका थिए ।

कप्तान इडेन हाजार्ड र केभिन डे ब्रुएने चोटका कारण आज खेल्ने सम्भावना कम छ । यो बेल्जियमलाई घाटा हुनेछ । हाजार्ड र डे ब्रुएने नखेलेमा ड्राई मर्टेन्स र यानिक कारास्कोले पहिलो रोजाइमा खेल्ने सम्भावना छ ।

युरोकपमा इटली र बेल्जियम चौथो पटक खेल्न लागेका हुन् । यसअघि तीन भेटमा इटली अपराजित छ । सन् १९८० को युरोको समूह चरणमा दुवैले गोलरहित बराबरी खेलेका थिए । २००० र २०१६ को युरोको समूह चरणमा इटलीले बेल्जियमलाई पराजित गरेको थियो ।

२०१५ को पछिल्लो मैत्रीपूर्ण खेलमा भने बेल्जियमले इटलीलाई ३–१ ले पराजित गरेको थियो ।

अहिलेसम्म २२ खेल हुँदा १४ खेल इटलीले जितेको छ भने बेल्जियमले ४ खल जितेको छ । यस्तै ४ खेल बराबरीमा सकिएको थियो । १९७२ को युरोकपका लागि छनोटमा बेल्जियमले इटलीलाई हराएको थियो ।

बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले इटलीले शुरुवातदेखि नै अट्याक गर्ने र डाइनामिक रहेको बताएका छन् ।

यस्तै अन्तिम १६ मा पोर्चुगल विरुद्ध एक मात्र गोल गरेका थोर्गन हाजार्डले इटली अहिलेसम्म खेल्न लागेको कठिन प्रतिद्वन्दी भएको बताएका छन् । ‘उनीहरुले लगातार जितिरहेका छन् र हाम्रो लागि त्यो तोड्ने चुनौती छ ।’

इटलीका प्रशिक्षक रोवर्टो मान्सिनीले विपक्षी टिमलाई सधैं सम्मान गर्दै आफ्नो खेल खेल्ने बताएका छन् । ‘हामीले प्रतियोगितामा देखिसकेका छौं कि कुनै खेल सजिलो हुने छैन । बेल्जियम अहिले विश्वमै उत्कृष्ट टिममध्ये एक हो । तर यसले धेरै परिवर्तन गर्दैन किनकि प्रतियोगिताको यो स्टेजमा हरेक खेल कठिन हुन्छ ।’

यस्तै इटलीका कप्तान जर्जिओ किलीले यो खेल दुई उत्कृष्ट टिमबीचको भिडन्त भएको भन्दै यसमा सानो कुराले फरक पार्ने बताए ।

इटालियन क्लब इन्टर मिलानलाई एक दशकपछि सिरी ए उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका बेल्जियमका रोमेलु लुकाकु यस खेलमा इटली विरुद्ध खेल्दैछन् । इटलीको टिममा रहेका २६ मध्ये २२ खेलाडी सिरी ए क्लबका छन् । त्यसैले लुकाकु र इटलीको टिम एकापसमा परिचित छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× 6 = forty two