ओलीको नेतृत्वमा कम्युनिष्ट आन्दोलन अघि बढ्दैन, हस्ताक्षर फिर्ता लिदैनौ: रामकुमारी झाँक्री

काठमाडौं । नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले पार्टीको एकताको ढोका संस्थापन पक्षले बन्द गरेको टिप्पणी गरेकी छिन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भनिन्,‘एकता भनेको त अनन्त प्रक्रिया हो । अहिले नै समाप्त भयो भनेर घोषणा गरिहाल्न त मिल्दैन् । तर, जुनखालका परिस्थितिहरु देखा परेका छन्, ती परिस्थितिहरुले पार्टीको संस्थापन पक्षले ढोका बन्द गरेको हो कि भन्ने कुरा चाहीँ बुझ्न गाह्रो छैन् ।’

अदालतले पनि अवैधानिक भनेको महाधिवेशन आयोजक कमिटीले गरेका निर्णयहरु आफूहरुलाई कुनैपनि हालतमा मान्य नहुने उनको भनाई छ ।

उनले भनिन्,‘अब राजनीतिक र कानूनी लडाईँ त हाम्रो जारी नै छ । पार्टीभित्रै हामी अन्तरसंघर्षका माध्यमबाट आफ्नो एजेण्डा स्थापित गर्ने र संस्थापनका गलत निर्णयहरु सच्याउने यो अभियानमा हामी छौं । तर, हेरौं अब, उहाँहरुले कसरी विधान अधिवेशन गर्नुहुन्छ ? तर, उहाँले एमालेमा हामीलाई ढोका बन्द गर्यौं भनेर मेसेज दिन यो गर्नुभएको हो, यो बुझ्न गाह्रो छैन् ।’ आफूहरुले संविधान र संसद्को रक्षाको लागि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि हस्ताक्षर गरेको पनि झाँक्रीले स्पष्ट पारिन् ।

उनले आफूहरुले कुनैपनि हालतमा देउवाको पक्षमा गरेको हस्ताक्षर फिर्ता नलिने स्पष्ट पारिन् । उनले भनिन्,‘अदालतबाट फैसला आउन बाँकी छ । त्यसकारण प्रक्रियामा भाग लिएका मान्छेले त्यसलाई बिचमै तुहाएर अनि यसबाट हस्ताक्षर फिर्ता लिने भन्ने कुनै सवाल नै आउँदैन् ।

यो नैतिक रुपमा, राजनीतिक रुपमा, यो हाम्रो स्थायित्वको लागि, लोकतन्त्रको लागि, संविधानको रक्षाको लागि, संविधानलाई क्रियाशिल बनाउनको लागि हामीले जे गर्यौं, जे जोखिम उठायौं, फिर्ता लिने भन्ने कुरा आउँदैन् ।

हामी फिर्ता लिँदैनौं ।’ उनले आफुहरु एमाले नै भएको दाबी गरिन् । उनले ओलीको नेतृत्वमा कम्युनिष्ट आन्दोलन अगाडि बढ्न नसक्ने पनि ठोकुवा गरिन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

thirty nine − = 32