काठमान्डौं । अपार्टमेन्टमै मृत फेला परेकी नायिका जेनी कुँवरको “सुसाइड नोट” प्रहरीले परीक्षण गर्न ल्याबमा पठाउने तयारी गरेको छ।
बिहीबार राति काठमाडौं थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा नायिका कुँवर मृत फेला परेकी थिइन्। उनी अपार्टमेन्टमा श्रीमानसँग बस्थिन्।
प्रहरीले घटनास्थलबाट सुसाइड नोट पनि फेला परेको महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी नायब उपरीक्षक मिमबहादुर लामाले जानकारी दिए।
उनका अनुसार नायिका कुँवरले आफ्नो मृत्युको दोषी कोही नभएको भन्दै उल्लेख गरिएको छ।
सुसाइड नोटको परीक्षण गर्न प्रहरीले सामाखुसीस्थित विधि विज्ञान प्रयोगशालामा पठाउने तयारी गरेको छ।
“हाम्रो फोरेन्सिक ल्याबमा पठाउने प्रक्रियामा छ। सबै संकलन गरेर विस्तारै पठाउँछौं,” प्रहरी नायब उपरीक्षक लामाले भने,”तयारी गर्दैछौं।”
नोटमा उनले आफ्नो दिमागी हालत ठिक नभएको कारणले आत्महत्या गरेको उल्लेख गरेको प्रहरी स्रोतले बतायो।
“मेरो दिमागी हालत ठिक नभएर मैले सुसाइड गरेको हो। मलाई मेरो श्रीमान र छोरीहरूले धेरै माया गर्नुहुन्छ। यसमा कसैको दोष छैन। बिरामी ठिक होला भनेको झनझन् गाह्रो हुँदै गयो, झनझन् गाल्दै गयो त्यही भएर आत्महत्या गरेकी हुँ,” सुसाइड नोटलाई उदृत गर्दै एक प्रहरीले भने,”नोट कोठामै भेटिएको थियो।”
कुँवरको शव भने पोष्टमार्टम गर्न महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाएको छ।
निर्मातासमेत रहेकी कुँवरले जिन्दगानी, मैदान, जीवनदाता, कानुन, अभिमन्यु, विन्तिपत्र, मलाई माफ गरिदेऊ लगायत फिल्ममा अभिनय गरेकी थिइन्।