काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल हुँदैछ।
देउवासँग तत्कालै छलफल गर्नेबारे माओवादी केन्द्रको मंगलबार बिहान बसेको स्थायी कमिटी बैठकले निर्णय गरेसँगै दुई नेताबीच भेटवार्ता हुने भएको हो।
सरकारमा सहभागिता, सरकार सञ्चालन लगायका विषयमा माओवादीले देउवासँग छलफल गर्न लागेको हो। देउवासँग छलफल गरेपछि माओवादी केन्द्रले मन्त्री छान्ने तयारी गरेको छ।
माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले भावी प्रधानमन्त्री देउवासँग मन्त्रिपरिषद् गठन, सरकार सञ्चालनको विधि लगायका बारेमा तुरुन्तै छलफल गर्ने जानकारी दिए।
‘आज नै प्रधानमन्त्री शेरबहादुर देउवा नियुक्त हुने र मन्त्रिपरिषद् गठन गर्ने सन्दर्भमा पार्टी अध्यक्ष प्रचण्डले तुरुन्तै भावी प्रधानमन्त्री देउवासँग सरकार सञ्चालनको निम्ति आवश्यक विविध विषयमा प्रारम्भि छलफल गर्ने र सरकारको स्वरुपका बारेमा ठोस छलफल गरेर आजको मन्त्रिपरिषद् गठन अघि बढ्छ’ प्रवक्ता श्रेष्ठले भने।
आज कस्तो मन्त्रिमण्डल गठन गर्ने, कुन–कुन पार्टी सहभागी हुने भन्ने बारेमा पहिला टुंगोमा पुग्न आवश्यक रहेको उनको भनाइ छ।
सोमबार सर्वोच्च अदालतले संसद पुनः स्थापना गर्दै देउवालाई आज ५ बजेभित्र प्रधामन्त्री नियुक्त गर्न परमादेश जारी गरेसँगै देउवाको शपथको तयारी गरिएको छ।