काठमान्डौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समिति सदस्य जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त भएका छन् । सर्वोच्च अदालतको सोमबारको फैसलापछि गठन भएको शेरबहादुर देउवा नेतृत्वको सरकारमा शर्मा चौथोपटक मन्त्री नियुक्त भएका हुन्।
यसअघि २०६५ सालमा शान्ति तथा पुनःनिर्माणमन्त्री, २०७३ मा ऊर्जामन्त्री र २०७४ मा गृहमन्त्रीको जिम्मेवारी निर्वाह गरेका शर्माले यसपालि अर्थ मन्त्रालयको नेतृत्व सम्हाल्न लागेका हुन्।
ऊर्जामन्त्रीका रूपमा उनले चर्को लोडेसेडिङको मारबाट मुक्त गराउन प्रभावकारी कदम चालेका थिए। उनको त्यही कार्यकालमा मुलुकले १६ घन्टाको विद्युत कटौतीबाट मुक्ति पाएको थियो।
मुसिकोट नगरपालिका–५ रूकुम पश्चिममा २०२० वैशाख २६ गते जन्मिएका शर्मा २०७४ को प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रबाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।
२०६३ मा अन्तरिम व्यवस्थापिका सदस्य, संविधानसभा २०६४ र २०७४ मा सदस्यका रूपमा निर्वाचित शर्माले राजनीतिमा आउनुअघि कृषि अनुसन्धान केन्द्रमा पाँच वर्ष सेवा गरेका थिए। शर्माले जनसेवाश्री र संविधानसभा पदक प्राप्त गरेका छन्।
मन्त्री शर्माले मंगलबारै सिंहदरबारमा पुगेर कार्यभार सम्हालेका छन्।