बामदेव गौतम दुई हात जोडेर भन्छन्ः केपी ओलीले माधव नेपालसँग माफी माग्नैपर्छ

काठमान्डौं । एउटा नेपाली उखान छ, सबैले बलेको आगो ताप्छन्, आगो निभेपछि टाप्छन् । केही दिनअघि केपी शर्मा ओली शक्तिमा रहदा नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले ओलीकै साथमा छु भन्दैँ पटकपटक बालुवाटार नै पुगेर एमालेको बैठकमा सहभागी भएका थिए । तर पदबाट हटेपछि नेता गौतमले ओलीमाथि आक्रोश पोखेका छन् ।

गौतम आफ्नै पार्टीको सरकार ढाल्न मेनरोल खेल्ने वरिष्ठ नेता माधव कुमार नेपालको खुलेरै साथमा उभिएका छन् ।

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालप्रति गरेको टिप्पणी गलत रहेको बताएका छन् ।

बुधबार नेता नेपालसँग कोटेश्वरमा भएको भेटका क्रममा उपाध्यक्ष गौतमले अध्यक्ष ओलीको टिप्पणी आपत्तिजनक रहेको र ओलीले माफी माग्नुपर्ने बताएका हुन् । गौतमको सचिवालयका अनुसार यसका लागि ओलीले माफी मागेर टिप्पणी फिर्ता लिनुपर्ने गौतमको प्रतिक्रिया थियो ।

गौतमले आफू अहिले पानि पार्टी एकताकै पक्षमा रहेको भन्दै यस्ता अभिव्यक्तिले पार्टी एकतालाई खल्बल्याउने बताए । ’आफू अहिले पनि वृहद् वाम एकताकै पक्षमा रहेका बेला यस्ता अभिव्यक्तिले एकतालाई भाँड्ने र अन्तरकलहको स्थिति पैदा गर्छ,’ वामदेवलाई उद्धृत गर्दै स्रोतले भन्यो, ’पार्टीमा म नै सर्वेसर्वा हुँ भन्ने प्रवृत्तिले कम्युनिस्ट आन्दोलनको औचित्य नै प्रभावित हुन सक्छ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली बुधबार बालुवाटारबाट निजी घर बालकोट पुगेर नेपाल पार्टीमा ’गद्दार’ भएको प्रतिक्रिया दिएका थिए । आफ्नै पार्टीको सरकार ढाल्न प्रतिपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै एमालेमा नेपालका लागि कुनै ठाउँ नभएको बताएका थिए भने उनका समर्थकले नेता नेपालको विरोधमा चर्का नारा लगाएका थिए ।

यता वरिष्ठ नेता नेपालले भने पछिल्लो राजनीतिक विकासक्रमपछि विपक्षी गठबन्धनबाट अलग्गिने घोषणा गरिसकेका थिए ।

प्रतिनिधिसभा बचाउनका लागि आफू गठबन्धनमा सहभागी भएर मुद्दा दर्ता गराएको भए पनि प्रतिनिधिसभा पुनर्स्थापना भएपछि आफू पार्टी एकतामै लागिपर्ने भन्दै उनी गठबन्धनमा नरहने बताएका थिए ।

गठबन्धन बैठकमा उनले भनेका थिए, ’अहिले परिस्थिति फेरिइसकेको छ, पार्टीमा पनि सहमति बन्दै गएको छ । त्यसैले म पार्टी एकतामा लाग्छु । गठबन्धनका रहन्नँ ।’

पार्टी एकताका लागि विपक्षी गठबन्धनबाट अलग हुने निर्णय गरिसकेपछि अध्यक्षको यस्तो अभिव्यक्ति आउनु गलत भएको नेपाल निकट एक नेता बताउँछन् ।

यसैबीच, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पनि एमाले नेता नेपालसँग भेट गरेका छन् ।

बुधबार भएको भेटमा बदलिँदो राजनीतिक घटनाक्रममा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको माओवादी केन्द्र सम्बद्ध स्रोतले जानकारी दियो ।

वृहद् वाम एकताको अभियान चलाइरहेका वामदेव गौतम र माओवादी नेताहरूले नेता नेपालसँग गरेको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

one × = six