प्रतिनिधि सभा बैठक शुरु, देउवाले विश्वासको मत लिँदै !

काठमाडौं । प्रतिनिधि सभाको बैठक शुरु भएको छ । प्रतिनिधि सभा दोस्रो पटक पुनः स्थापना भएपछिको यो पहिलो बैठक हो ।

सर्वोच्च अदालतले २८ असारमा दोस्रो पटक प्रतिनिधि सभा पुनः स्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो । देउवालाई २९ असारमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ गराएकी थिइन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी एमाले भित्र आन्तरिक कलह चर्किएपछि २०७७ पुस ५ गते पहिलो पटक प्रतिनिधि सभा विघटन गरेका थिए । त्यसविरुद्ध सर्वोच्चमा मुद्धा परेको थियो । सर्वोच्चले ११ फागुनमा प्रतिनिधि सभा पुनः स्थापना गरेको थियो ।

त्यसैगरी ओलीले २०७८ जेठ ७ गते मध्यराति दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेका थिए । त्यस बिरुद्ध एमालेको ओली पक्षबाहेक सबै प्रमुख राजनीतिक दलका सांसदहरु शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च पुगेका थिए । सर्वोच्चले देउवालाई प्रधानमन्त्री बनाउन परामादेश दिदै २८ असारमा दोस्रोपटक प्रतिनिधि सभा पुनः स्थापना गरेको हो ।

देउवाले आजकै बैठकमा प्रतिनिधि सभामा विश्वासको मत लिदैछन् । सबैले गरेको अनुमान विपरित देउवाले आजै विश्वासको मत लिने निर्णय गरेका हुन् । कतिपयले देउवाले एक महिना भित्र विस्तारै विश्वासको मत लिने आकलन गरेका थिए । तर राजनीतिक बृतलाई तरंगित बनाउँदै देउवाले आजै विश्वासको मत लिने आँट गरेका हुन् ।

देउवा नेपालको संबिधान २०७२ को धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री बनेका हुन् । सो धारा अन्तर्गत बनेको प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक प्रावधान छ । यदि देउवाले विश्वासको मत नपाए प्रतिनिधि सभा भंग गरेर ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने हुन्छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eighty eight + = eighty nine