प्रहरीमा चरम विभेद- ठूलालाई दरबन्दी थपेर बर्सेनि बढुवा, जवान र हवल्दार १५ वर्षदेखि एउटै पदमा

काठमाडौं । कुनै पनि सरकारी सेवामा प्रवेश गरेपछि निश्चित समयपश्चात बढुवा हुने आशा सबैलाई हुन्छ । प्रहरी कर्मचारीको हकमा पनि यस्तो आशा नहुने कुरै भएन ।

प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा भर्ना भएका सबैको इच्छा प्रहरी महानिरीक्षक (आईजीपी) बन्ने र त्यो नभए एआईजी वा डीआईजीसम्म पुग्ने हुन्छ ।

तल्ला तह अर्थात् जवान र प्रहरी सहायक निरीक्षकमा भर्ना हुनेहरू पनि सकेसम्म माथि पुगेर रिटायर्ड हुन चाहन्छन् ।

एउटै संगठन, एउटै नीति नियम तर, प्रहरीमा सबैको यो इच्छा समान रूपले पूरा हुने वातावरण भने बन्न सकेको छैन ।

माथिल्ला तहमा दरबन्दी खाली नहुँदा थप गरेर भएपनि बर्सेनि बढुवा भइरहेको छ, तर तल्लो तहका प्रहरी कर्मचारीहरू भने १५ वर्षदेखि एउटै पदमा छन् ।

प्रहरी जवान, प्रहरी हवल्दार, प्रहरी सहायक निरीक्षक (असई)मा कार्यरत २० हजारभन्दा धेरै प्रहरी कर्मचारीहरू बढुवा नहुँदा निराश छन् ।

ड्युटीमा सबैभन्दा धेरै खटिनुपर्ने तल्लो तहका प्रहरी कर्मचारीहरू नै बढी अन्यायमा पर्दै आएको अवस्था छ ।

माथिल्लो तहमा दरबन्दी थप गरेर बढुवा गर्दै जाने तर तल्लो तहमा भने बढुवाका लागि योग्य हुँदा पनि आलटाल गर्ने काम भइरहेको पूर्व प्रहरी अधिकारीहरू नै बताउँछन् ।

‘तल्लो तहका प्रहरी कर्मचारी २०६३ सालदेखि अहिलेसम्म बढुवा हुन पाएका छैन । १५ वर्ष भयो, अब रिटायर्ड हुन धेरै बाँकी छैन,’ एक प्रहरी जवानले लोकान्तरसँग भने, ‘केही नभए पनि रिटायर्ड हुँदा हवल्दार हुन पाए हुन्थ्यो भन्ने चाहना हो, तर खै हुने देखिँदैन ।’

प्रहरीमा बढुवाका लागि योग्य र कुनै पनि कारवाहीमा नपरेका करीब १८ हजार जवानहरू बढुवाको प्रतीक्षामा छन् । यस्तै करीब ४ हजारभन्दा धेरै प्रहरी हवल्दारहरू असईमा बढुवाको प्रतीक्षामा छन् ।

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार २०६७ यता ३० हजार ५०९ जना प्रहरी जवान भर्ना भएका छन् । त्यसमध्ये २२ हजार ३९८ जनाको मात्र बढुवा भएको छ । बाँकी बढुवाको प्रतिक्षामा छन् ।

२०६३ यता भर्ना भएका तर बढुवा हुन नपाएकाहरूको कुल संख्या करीब १८ हजार छ ।

प्रहरीमा हाल ४६ हजार २१९ जवानको दरबन्दी छ ।

हाल प्रहरी हवल्दारको दरबन्दी ९ हजार ६८९ छ । करीब ४ हजार हवल्दार बढुवाका लागि योग्य भएर प्रतिक्षामा छन् ।

प्रहरी नियमावली २०७३ को नियम (२७) (च) बमोजिम बढुवा सिफारिस समितिले सिफारिस गरेपछि (२८) (ख) बमोजिम बढुवा हुने व्यवस्था छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ one = 7