काठमान्डौं । प्रधानमन्त्रीमा नियुक्त भएपछि र ३ साउनमा विश्वासको मत पाएपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई आज दिउँसो बसेको प्रतिनिधिसभा बैठकमा नै औपचारिक रुपमा सांसदहरुले बधाई दिएका छन् ।
१ सय ४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरेका देउवाको आधार नपुग्ने भन्दै राष्टपति भण्डारीले देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गरिनन् ।
उनले नियुक्ति नगरेसँगै प्रधानमन्त्री ओलीले संसद विघटन गरिदिए । संसद विघटन गर्दा उनको क्याबिनेटमा एक जना मन्त्री थिए, प्रेम आले । सुदूरपश्चिमका सांसद आले प्रधानमन्त्री ओलीसँग नजिक हुँदै गएका थिए ।
तर, संसद विघटन गरेपछि जसपाको साथ लिएर जसै प्रधानमन्त्री ओलीले आलेलाई मन्त्री पदबाट हटाए, उनी ओलीसँग रुष्ट हुँदै गए ।
मन्त्री हुँदा बोटबिरुवाले हामीलाई कार्बनडाइअक्साइड दिन्छ भन्ने अभिव्यक्ति दिएर चर्चामा आएका आलेले ३ साउनसम्म आइपुग्दा आफूमा आएको परिवर्तनको संकेत गर्ने उपाय खोजे– देउवालाई विश्वासको मत दिए ।
कोरोना महामारीको दोस्रो लहरमा सुदूरपश्चिममा अक्सिजन सिलिन्डर लैजाँदा आफ्नो फोटो टाँसेर पठाएका आलेले यति छिटै ओलीको साथ छोड्लान् भन्ने कसैले अनुमान गरेको थिएन । तर, उनी पछिल्ला दिनमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग नजिकिन थालेको जस्तो देखिन्छ ।
३ साउनमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिएका कारण पनि अब आलेलाई ओली क्याम्पका सांसदका रुपमा गन्न छाडिएको छ ।
तिनै आले आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका छन् ।
यसअघि प्रधानमन्त्रीमा देउवा नियुक्त भएलगत्तै आले उनको निवास बूढानीलकण्ठ पनि पुगेका थिए । आफूलाई मन्त्री बनाइदिने भए आफूले विश्वासको मत दिन तयार रहेको उनले त्यो भेटमा देउवालाई भनेको चर्चा चलेको थियो ।
विश्वासको मतका लागि सांसद आवश्यक भएकाले देउवाले पनि यसलाई सकारात्मक रुपमा नै लिएका थिए ।
स्रोतका अनुसार आज बालुवाटारमा प्रधानमन्त्री देउवालाई बधाई दिँदै आलेले आफूलाई जिम्मेवारी दिए निष्ठापूर्वक पूरा गर्ने बताएका छन् । तर, गठबन्धनका पाँच दलबीच मन्त्रालय बाँडफाँड गर्नु पर्ने भएकाले देउवाले आलेलाई मन्त्री बनाउन सक्ने सम्भावना चाहिँ छैन ।