काठमाडौँ । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश प्रमुखमा अमिक शेरचनलाई बनाउन सिफारिस गरेको छ । मंगलबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले शेरचनलाई प्रदेश प्रमुखमा सिफारिस गर्ने निर्णय गरेको हो
शेरचनलाई गत वैशाख २० गते सोमबार तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले पदमुक्त गरेकी थिइन् । उनको ठाउँमा एमालेकी सीता पौडेललाई प्रदेश प्रमुखमा नियुक्त गरिएको थियो ।
शेरचन मन्त्रिपरिषद्को सिफारिसपछि राष्ट्रपतिबाट नियुक्त हुनेछन् ।
सत्तारुढ दलहरुबीचको भागबन्डापछि गण्डकीमा माओवादीले प्रदेश प्रमुखको सिफारिस गरेको हो ।
आज बस्ने मन्त्रिपरिषदको बैठकले गण्डकीसहित लुम्बिनी र प्रदेशको २ को प्रदेश प्रमुख हटाएर नयाँ सिफारिस गर्ने बताइएको छ ।
त्यस्तै प्रदेश २ को प्रदेश प्रमुखमा जनता समाजवादी (जसपा), लुम्बिनी प्रदेश काँग्रेसको भागमा परेको बताइएको छ । जसपा र काँग्रेसले भने अझै प्रदेश प्रमुखमा सिफारिस गर्ने नाम टुंगाएका छैनन् ।
सरकारले सातै प्रदेशका प्रदेश प्रमुख हटाउने तयारी गरेपनि एमालेको नेपाल पक्षले निर्णय नगर्दा आज तीन प्रदेशका प्रदेश प्रमुख हटाउने तयारी सरकारले गरेको हो ।
गठबन्धनमा रहेका दलहरुले काँग्रेस, माओवादी केन्द्र र एमालेको नेपाल पक्षले २/२ र जसपाले एक प्रदेश प्रमुख पाउने गरि सहमति गरेको बताइएको छ ।