काठमाडौँ । नेकपा माओवादी केन्द्र छाडेका चार नेताले हालेको मुद्दालाई सर्वोच्च अदालतले नभ्याइनेमा सूचीमा पठाएको छ। उनीहरुले माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डसहितविरुद्ध हालेको उक्त रिट सर्वोच्चका न्यायाधीश दीपककुमार कार्कीको इजलासमा पेशी चढेको थियो। तर कार्कीको इजलासको उक्त मुद्दा हेर्न नभ्याइनेमा परेको हो ।
तत्कालीन नेकपा खारेजीमा परेपछि माओवादी छाडेर एमालेतिर लागेका चार नेताहरुले आफूहरु माओवादीमै रहेको दाबीसहित बुधबार रिट दायर गरेका थिए। उनीहरु सांसद पद पुनर्बहाली मागसहित हालेको उक्त रिट आज सुनुवाइको सूचीमा थियो।
सांसद पद फर्काउन मागसहित हाल एमालेमा रहेका नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले सर्वोच्चमा रिट हालेका थिए। उनीहरुको रिटको पेशी बिहीबार तोकिएको थियो। तर अन्तिममा हेर्न नभ्याइने सूचीमा पठाइएको सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ।
सर्वोच्च अदालतले नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्यूँताएपछि यी चारजना नेता एमालेमै बसेका थिए। पार्टी परिवर्तन गरेको भन्दै माओवादी केन्द्रले उनीहरुलाई चैत २४ गते सांसद पदबाट बर्खास्त गरेको थियो। सांसद पद र पार्टीको सदस्यबाटै निष्कासित भएपछि त्यसबारे जानकारी संसद् सचिवालयलाई दिइएको थियो।
माओवादी केन्द्रबाट निर्वाचित सांसद र पार्टी साधारण सदस्यबाट पनि हटाइएपछि उनीहरुलाई संसद सचिवालयले गत चैत २६ गते सांसद पदबाट हटाएको थियो। सांसद पदबाट हटाएको करिब ४ महिनापछि रायमाझीसहितका नेताले सर्वोच्चको ढोका ढकढक्याएका हुन्।