
काठमाडौँ । माओवादी केन्द्रको स्थायी कमिटी बैठकले पाँचवटा निर्णय गरेको छ। गठबन्धनलाई मजबुत बनाउनेदेखि भारतीय एसएसबीले तुइन काटिँदा महाकाली नदीमा खसेर बेपत्ता भएको भनिएका जयसिंह धामीलगायत सम्बन्धि पाँचवटा निर्णय गरेको हो।
माओवादी केन्द्रको स्थायी कमिटी बैठकले पाँचवटा निर्णय गरेको छ। नेकपा (माओवादी केन्द्र) ले यही साउन ३० गतेसम्म पार्टीका सबै वडासमिति गठन गरी त्यसको यथार्थ विवरण केन्द्रीय कार्यालयमा उपलब्ध गराउन केन्द्रीय सदस्यलाई निर्देशन दिएको छ।
पार्टी सङ्गठनलाई चुस्त, दुरुस्त तथा व्यवस्थित बनाउन सबै वडासमिति गठन, पुनःगठन गरी यथार्थ विवरण तयार पार्न निर्देशन दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकले साउन ३० गते बस्ने केन्द्रीय समितिको बैठकमा सो विवरणसहित आउन निर्देश गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
यसअघि यही साउन २० गतेका लागि तय भएको केन्द्रीय समितिको बैठक थप तयारी गर्नुपर्ने भन्दै १० दिन पर सारिएको छ।
पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा, सरकार विस्तार एवं आवश्यक तयारीका लागि केन्द्रीय समितिको बैठक पर सारिएको उनको भनाइ छ।