काठमान्डौं । पाँच दलीय गठबन्धनमध्येको एउटा घटक एमालेको माधव नेपाल पक्षको अलमल र त्यसैका कारण अन्य दलसँग गर्ने मन्त्रालय बाँडफाँड टुंगो नलाग्दा मन्त्रिपरिषद् विस्तारमा सकस भएको छ ।
नयाँ सरकार गठन भएको करिब तीन हप्ता समय पुग्दासमेत गठबन्धनका दल कसले कति मन्त्रालय पाउने भन्ने टुंगिएको छैन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै पार्टीभित्रबाट क–कसलाई मन्त्री बनाउने भन्नेसमेत टुंग्याउन सकेका छैनन् ।
गठबन्धन भएका कारण मन्त्रिपरिषद् विस्तारमा अलमल भएको कांग्रेसले बताएको छ । कांग्रेस नेता पूर्णबहादुर खड्काले गठबन्धन दलहरूको संयुक्त सरकार भएका कारण केही ढिला भएको बताए । ‘गठबन्धन सरकार भएकाले केही ढिलो भएको हो । छिट्टै यो सम्पन्न हुन्छ,’ खड्काले भने ।
आइतबार मात्रै एमाले नेता नेपालले ‘पार्टीको आन्तरिक विषय मिलाउनुपर्ने भएकाले मन्त्रीहरूको नाम दिन अझैँ केही समय लाग्ने’ बताएका छन् । गत शुक्रबारसम्म मन्त्रिपरिषद् विस्तार गरिसक्ने योजनामा रहेका प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले नेता नेपालको यस भनाइले थप अलमलमा परेका छन् ।
पछिल्लो भेटमा नेपालले प्रचण्डसँग आफू पार्टी एकताका विषयमा छलफल गरिरहेकाले तत्काल मन्त्रिको नाम दिन नसक्ने भनेका छन् । सोमबार माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीमा जानुअघि प्रचण्ड र नेता नेपालबीच भेटवार्ता भएको थियो ।
माओवादी केन्द्रका नेता नारायणाकाजी श्रेष्ठका अनुसार प्रचण्डसँगको भेटमा नेता नेपालले आफू पार्टीभित्रको विवादका विषयमा छलफलमा रहेको र अझैँ केही समय मन्त्रीको नाम दिन नसक्ने बताएका थिए ।
‘हिजोअस्तिसम्म मन्त्रिपरिषदमा जानुपर्ने हुनसक्छ, पर्खिनुहोस् भन्नु भएको थियो । आज ९आइतबार० चाहीँ आजै मन्त्रिपरिषद्मा जाने कुरा अझैँ दुईचार दिन नहोला जस्तो छ भन्नु भएको छ ।
सायद यो उहाँहरूको पार्टी एकतासम्बन्धी वार्तासँग जोडिएको विषय होला,’ श्रेष्ठले भने । यस विषयमा प्रचण्डले पार्टीको स्थायी कमिटीमा समेत ब्रिफिङ गरेका थिए । उनले नेपाल समूह सरकारमा पनि सहभागी हुन नसक्ने र पार्टीमा ओलीलाई स्वीकार गरेर फर्किन पनि नसक्ने अवस्थामा रहेको बताएका थिए ।
पाँच दलीय गठबन्धनका तर्फबाट सरकारको नेतृत्व गर्न पुगेका देउवाले प्रधानमन्त्रीको सपथ खाएको सोमबार ठीक २१ दिन पुग्दैछ । देउवाले आफू प्रधानमन्त्री भएको एक हप्तासम्म गठबन्धनमा सहभागी अन्य दलहरूलाई पर्खिए पनि जसपा र एमालेको नेपाल पक्षलाई केही दिन समय लाग्ने भएपछि मन्त्रिपरिषद् विस्तारको काम रोकेका थिए ।
उनले शुरुमा आफ्नो पार्टीका दुई र माओवादी केन्द्रका दुई जना मन्त्री सहभागी गराएर पाँच सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका थिए । तर त्यसपछि केही दिनसम्म जसपाको विवाद नसल्टिएका कारण र अहिले एमाले नेता नेपाल पक्षले निर्णय गर्न नसक्दा मन्त्रिपरिषद्लाई विस्तार गर्न सकेका छैनन् ।