काठमाडौं । नेकपा माओवादी केन्द्रलाई पार्टीबाट सरकारको नेतृत्व गर्ने र मन्त्री बन्ने नेताहरुको नाम चयन गर्न सकस परेको छ ।
आइतबार बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्ने बताए पनि सोमबारका लागि डाकिएको बैठक भने स्थगित गरिएको छ ।
देउवा सरकारमा माओवादीबाट जनार्दशन शर्मा र पम्फा भुसाल मन्त्रीमा सहभागी भएका छन् । माओवादीको भागमा परेको सात मन्त्रीमध्ये अझै पाँच जनाको नाम टुंगो लगाउनु पर्नेछ ।
तर, मन्त्री बन्ने आकांक्षी नेताहरुका कारण र पार्टीबाट सरकारको नेतृत्व गर्न प्रवक्ता नारायणकाजी श्रेष्ठ र पूर्व सभामुख कृष्णवहादुर महरा दुवैले दावी गरेपछि माओवादी सकसमा परेको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको तीन हप्ता भइसक्दा पनि अझै मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेको छैन ।
सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको आन्तरिक विवादका कारण ढिलाइ भएको भनिएका बेला अब मन्त्री बन्ने आकांक्षी नेताहरुको संख्या धेरै देखिएकाले मन्त्रिपरिषद्लाई पूर्णता दिन विलम्ब हुने देखिएको छ ।
माओवादीको स्थायी कमिटीकै नेताहरुको मन्त्री बन्न प्रतिस्पर्धा भएपछि अध्यक्ष प्रचण्डलाई नेताहरुको नाम चयन गर्न सकस भएको हो ।
प्रवक्ता श्रेष्ठ र महराले उपप्रधानमन्त्रीसहित सरकारम जान चाहेका छन् । महरा सभामुखसहित ५ पटक मन्त्री र तीन पटक उपप्रधानमन्त्री भइसकेका छन् । महरालाई रोक्न केही नेताहरु लागिपरेका छन् ।
माओवादीबाट श्रेष्ठ, महरा, देवेन्द्र पौडेल, सुदन किराती, अमनलाल मोदी अन्जना विशंखेसहित नेताहरुको नाम चर्चामा छ ।