काठमाडौं । आर्थिक प्रलोभनमा नपर्ने प्रहरी निरीक्षकसहित ३६ जना ट्राफिक प्रहरीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले पुरस्कृत र सम्मान गरेको छ ।
सम्मानित हुनेहरूमध्ये ९ जना ट्राफिक प्रहरीलाई नगदसहित वृद्धि विकासमा सहयोग पुग्ने गरी रेकर्डमा जनिने पुरस्कार दिइएको छ । अन्यलाई खादा ओढाएर प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।
ट्राफिक नियम उल्लंघन गर्ने कुनै पनि चालकहरूको प्रलोभनमा नपर्न नियमित ब्रिफिङ एवं निर्देशन दिँदै आएको भन्दै महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले घुस दिन खोज्ने ४९ जना चालकहरूलाई पक्राउ गरी कारवाहीको दायरामा ल्याउने ३६ जनालाई पुरस्कृत एवं सम्मान गरेको जानकारी दिए ।
आम सवारी चालकहरूलाई ट्राफिक नियमको पूर्ण पालना गर्न र उल्लंघनपश्चात हुने कारवाहीबाट बच्न ट्राफिक प्रहरीलाई प्रलोभनमा पार्ने प्रयास नगर्न महाशाखाले आग्रह गरेको छ ।
गत आर्थिक वर्षमा घुसबापत् ९० हजार १५५ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने १६५ जना सवारी चालकहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने ९३ जना प्रहरी कर्मचारीलाई पुरस्कृत तथा सम्मान गरिएको महाशाखाको भनाइ छ ।