काठमाडौँ । स्वास्थ्य मन्त्रालयले परीक्षा स्थगित गर्न सिफारिस गरेपछि यसबारे निर्णय लिन राष्ट्रिय परीक्षा बोर्डको बैठक आज (शनिवार) बस्दै छ ।
शुक्रवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेपछि आज बोर्डको बैठक बस्न लागेको हो ।
मन्त्रालयको सिफारिसपछि परीक्षा के हुन्छ भन्नेमा विद्यार्थी र शिक्षक अन्योलमा छन् । कक्षा १२ को परीक्षामा झन्डै चार लाख विद्यार्थी सहभागी हुँदै छन् ।
स्वास्थ्य मन्त्रालयले कोरोना सङ्क्रमण फेरि फैलन थालेपछि शिक्षा मन्त्रालय र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो ।
परीक्षा बोर्डले कक्षा १२ को परीक्षा यही साउन ३१ गतेदेखि ९ दिनसम्म गर्ने सबै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर परीक्षा सञ्चालन हुने बताउँदै आएको छ । यसअघि गएको जेठ २६ गतेका लागि तय भएको परीक्षा बोर्डले स्थगित गरेको थियो ।