काठमान्डौं । नेकपा (माओवादी केन्द्र) मा मानिसहरुको आकर्षण देखिएको छ । भक्तपुरमा शनिवार बिभिन्न पार्टी परित्याग गरी २९ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
सूर्यविनायक नगरपालिका वडा नम्बर ८ को वडा भेलामा २९ जनाले पार्टी प्रवेश गरेका हुन् । कुमार लामाको नेतृत्वमा बिभिन्न पार्टीबाट गरी २९ जना माओवादी केन्द्रमा प्रवेश गरेका उक्त कार्यक्रमका संचालक समेत रहेका युवा नेता मिलन लामाले बताए ।
नवप्रवेशीहरुलाई पार्टीका भक्तपुर अध्यक्ष डिपी ढकालले स्वागत गरेका थिए । नवप्रवेशीका तर्फबाट बोल्दै अगुवा नेता कुमार लामाले जनताको बलिदानीबाट बनेको पार्टी माओवादी केन्द्रमा केन्द्रित हुन पाएकोमा गौरव महसुस भएको प्रतिक्रिया दिएका छन् । पार्टीले दिएको जिम्मेवारी पूरा गर्न आफूहरु सदैव तयार रहने उनले प्रतिवद्धता समेत प्रकट गरे ।
उक्त अवसरमा नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै नेकपा (माओवादी केन्द्र) भक्तपुरका अध्यक्ष डिपी ढकालले अग्रगामी र परिवर्तनकारी शक्ति माओवादी केन्द्र मात्र भएकोले परिवर्तन चाहनेहरु ढिलोचाडो माओवादी हुनुको बिकल्प नभएको बताए ।
अध्यक्ष ढकालले जनविरोधी हर्कत गर्दा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट बार्दलीमा पुगेर थन्किएका दावी गरे । प्रतिगमन तर्फ जादाँ नेकपा (एमाले)को ओली पक्ष जनताबीच नाङ्ग्गिएको जिकिर गर्दै उनले भीरबाट लड्नजानेलाई रामराम भन्न सकिने तर काध थाप्न नसकिने तर्क गरेका थिए । सोहीकारण नेकपामा ओलीको पछि लागेर हिड्न नसकिएको उनले प्रष्ट पारे ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले भक्तपुरको बिकाशको लागि आफू र आफ्नो पार्टी हमेसा क्रियाशील रहेको जानकारी गराउदै जनताको पक्षमा वडा देखि मन्त्रालयसम्म आवश्यक पहलका लागि सदैव तयार रहेको दावी गरे । जनताले उक्त कार्यका लागि जुनसुकै बेला आफूलाई सम्पर्क गर्न सक्ने समेत उनले स्पष्ट पारे ।
उक्त अवसरमा नेता ढकालले स्थानीय जनताले नेताको बदला व्यवसायीलाई जनप्रतिनिधि चुन्दा बिकाशनिर्माण कार्यमा भ्रष्टाचार र बिकृती बढेको प्रति जनता संवेदनशील बन्नुपर्ने आवस्यकता समेत औल्याएका थिए ।
स्थानीय नेता भरत सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन स्थानीय स्वयंसेवी एवं जिल्लाका युवा नेता मिलन लामाले गरेका थिए ।
कार्यक्रममा पार्टीको सूर्यविनायक संयोजक जीवन तज, सहसंयोजक सानुकान्छा तामाङ्ग, पनौती नगर संयोजक राजेन्द्र सापकोटा, पाँचखाल नगरपालिकाका जनप्रतिनिधि बालकृष्ण सापकोटा, भक्तपुर वाइसिएलका अध्यक्ष नरेश वाइवा लगायत अतिथिको रुपमा उपस्थित रहेका थिए ।
अर्पण डेरी अगाडी भएको वडा भेलाको अवसरमा उक्त वडाका फूटबल खेलाडीहरुलाई सम्मान समेत गरिएको थियो । प्रथम मेयर कप पुरुष फ़ुट्सल प्रतियोगितामा द्वितीय स्थान हासिल गर्न सफल खेलाडीहरुलाई सम्मान गरिएको नेता मिलन लामाले जानकारी गराए ।