काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले दिएको निर्देशनअनुसार आफूले काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । आज बुधवार प्राधिकरणको कार्यालय पुगेर पदभार ग्रहण गर्नुभएका उहाँले सरकारले दिएको निर्देशनअनुसार नेपालको ऊर्जा क्षेत्रको हाइटलाई अझै माथि उठाउने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।
आम नागरिकको अपेक्षाको सम्मान गर्दै सरकारले आफूलाई फेरि यो जिम्मेवारी दिएको उल्लेख गर्दै नवनियुक्त कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘सरकारले दिएको जिम्मेवारी, ऊर्जामन्त्री पम्फा भुसालले दिनुभएको निर्देशनअनुसार नेपालको ऊर्जा क्षेत्रलाई अझ हाइटमा लाने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
मैले गर्ने भनेको सरकारको कार्ययोजना हो । त्यही कार्ययोजनालाई अघि बढाउने हो । सरकारको जुन निर्देशन छ, त्यसलाई अघि बढाउने हो । धेरै अगाडि बढनुपर्नेछ ।’
कार्यकारी निर्देशक घिसिङले प्राधिकरणको कामलाई नागरिकको अपेक्षाअनुसार अघि बढाउन नयाँ गतिका साथ काम गर्न पनि मातहतका कर्मचारीलाई आग्रह गर्नुभयो । उहाँले आफ्नो पहिलो प्राथमिकता सेवाग्राहीको गुनासोलाई तत्काल सम्बोधन गर्ने रहेको पनि स्पष्ट पार्नुभयो । सुशासन र गुणस्तरीय सेवाका लागि प्राधिकरणलाई प्रविधिमय बनाउँदै लैजाने उहाँको योजना छ ।
घिसिङले हितेन्द्रदेव शाक्यलाई पनि सरकारले ऊर्जा आयोगमा लगेर सम्मान गरेको बताउनुभयो । उहाँले आफूले ठूलो चुनौती मोलेर प्राधिकरणको दोस्रो कार्यकालको जिम्मेवारी लिएको उल्लेख गर्दै कसैको टिकाटिप्पणी नगरि काम गर्ने पनि बताउनुभयो ।
अघिल्लो कार्यकालमा लोडशेडिङको अन्त्य, घाटाका गएको संस्थालाई नाफामा लगेर नयाँ अध्याय सुरु गरेको तथ्य पेस गर्दै घिसिङले भन्नुभयो, ‘यस पटक त्यति बेलाको भन्दा ठूला र विशाल चुनौती छन् । त्यसलाई स्वीकार गरेर आएको छु । मेरो एक्लो प्रयासले मात्रै केही हुँदैन । हामी सबै मिलेर काम गरौँ । देश, नागरिक र देशको अपेक्षा पूरा गर्न सकिन्छ ।’