काठमाडौं । नेपाल रेलवे कम्पनीको महाप्रबन्धक पदबाट राजीनामा दिएका गुरुप्रसाद भट्टराईले हितेन्द्र देव शाक्यलाई विद्युत प्राधिकरणबाट हटाएर कुलमान घिसिङलाई नियुक्त गरिएकोमा असन्तुष्टि जनाएका छन् । शाक्यलाई जबरजस्ती हटाएर कुलमान ल्याउन नसकिने हुनाले उनलाई सचिवस्तरको पदमा बढुवा गरी लोभ देखाएर कुलमानलाई प्राधिकरणमा ल्याइएको उनको आ,रोप छ ।
उनले मुर्खहरुलाई बेबकुफ बनाएर कुलमान हिरो भएको समेत आरोप लगाएका छन । उनले भनेका छन्– ‘उठ्न नसकेको १५ अर्ब खातामा बुक गरेर १० अर्ब नाफा भो भन्ने कुलमानले पोहोर साल २२ अर्बको बिजुली आयात गरेर बाल्यो ।
अहिले नाफा त ३ अर्ब मात्रै भो भनेर मेडियाबाजी गर्ने कुलमानले अब त्यो १५ अर्ब उठाओस, अनि प्राधिकरण नाफामा भएको तथ्य बाहिर ल्याओस । मुर्खहरुलाई बेबकुफ बनाएर हिरो भएका कुलमानले एकजना इन्जिनीयरसँगै राखेर अन्तरवार्ता दिए हुने नि । हिम्मत छ ? कठै, खोल ओढेर घिउ खाने फटाहा हो, यो मातृभूमीले तिमीहरुलाइ सराप्ने छ ।’
षस्तै उनले सरकारको चाकर भएर बस्न नचाहेकै आफूले राजीनामा दिएको पनि दाबी गरेका छन् – ‘यो घटिया सरकारको चाकर भएर बस्न चाहे म पनि अदालतमा च्यालेन्ज गर्थेँ तर परिणाम दिन नसकिने “ठगबन्धन” सरकारको पदमा रहेर नागरिकले तिरेको करबाट तलव मात्र खानु हुन्न भनेर छोडेको हुँ ।
राज्यको सेवा गर्ने थुप्रो ठाउँ छ, म बाहिर बसेर पनि मुलुक निर्माण मै कलम चलाउँछु । सबैको आत्मसम्मान एकै हुँदैन, आत्मा बेचेपछि जीवन जीउनुको कुनै अर्थ हुँदैन ।’
नेपाल रेलवे कम्पनीको महाप्रबन्धक भट्टराई बुधबार राजीनामा दिएका थिए । सरकारले उनलाई रेल सञ्चालनका सम्बन्धमा स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । सरकारले बर्खास्त गर्ने उद्देश्यले स्पष्टीकरण सोधेको भन्दै त्यसको जवाफ नदिई उनले राजीनामा घोषणा गरेको दाबी गरेका थिए ।