प्रचण्डको प्रक्षेपण: चुनावसम्मै गठबन्धन, त्यसपछि पहिलो शक्ति माओवादी केन्द्र !

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनसम्म गठबन्धनलाई कायम राख्ने स्पष्ट पारेका छन्।

शनिबारबाट काठमाडौंमा सुरु भएको केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा आगामी निर्वाचनसम्म गठबन्धनलाई कायम राख्ने पार्टीको नीति भएको स्पष्ट पारेका छन्।

नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बहिर्गमनको लागि नेपाली कांग्रेस, माओवादी, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टी जसपा, राष्टिय जनमोर्चाको ५ दलीय गठबन्धन बनेको थियो।

प्रचण्डले बैठकमा पेश गरेको प्रतिवेदनमा भनिएको छ, ‘केपी ओलीको प्रतिगमनका विरुद्ध संघर्षकै क्रममा वाम लोकतान्त्रिक गठबन्धन निर्माण भएको छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि प्रहार गर्दै प्रतिगमन गर्ने ओली प्रवृत्तिलाई गठबन्धनले पराजित गरेको छ। यसलाई नरुचाउने शक्तिहरू गठबन्धनलाई कमजोर पार्न र भत्काउन लागि परेका छन्।’

लोकतान्त्रिक राजनीतिक प्रणाली, संविधान र राष्ट्रियताको रक्षा गर्दै देशमा आर्थिक समृद्धि, स्थायित्व र सुशासन कायम गर्न निर्माण गरिएको गठबन्धनलाई बुझ्ने र आगामी निर्वाचनसम्म कम्तिमा कायम राख्ने पार्टीको नीति रहेको उल्लेख गरेका छन्।

प्रतिवेदनमा भनिएको छ, ‘गठबन्धनकै संयुक्त सरकार बनेको छ। गठबन्धन सरकारले सफल कार्यान्वयन गर्दै आफ्नो साझा नीति तथा कार्यक्रम सार्वजनिक समेत गरिसकेको छ। उक्त नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्दै अर्थतन्त्रको पुनरुद्धारका, जनताको जीवनस्तरमा सुधार गरी मुलुकमा सुशासन स्थापना गर्नु गठबन्धन र सरकारको प्रथामिकता हो। सरकारलाई सफल बनाउन पार्टी आफ्नो ठाउँमा लागि पर्नेछ।’

संसदमा विचाराधीन रहेको विवादास्पद एमसीसी, लिपुलेक, कालापानी र लिम्पियाधुराको प्रश्नलाई पार्टीको घोषित नीति अनुसार कुटनैतिक सम्वादका माध्यमबाट हल गर्न प्रयत्न गर्ने समेत प्रतिवेदनमा उल्लेख छ।

मालेमावादको रक्षा, प्रयोग र विकास गर्दै समाजवाद निर्माणको दिशामा बढ्न सक्ने पार्टी निर्माण गर्नु अहिलेको आवश्यकता भएको प्रचण्डको भनाइ छ।

‘विधी र प्रणाली व्यवस्थित नबनाइकन पार्टीले आफ्नो लक्ष्य प्राप्त गर्न सक्दैन्। परिमार्जित विधानले उक्त आवश्यकतालाई सम्बोधन गर्ने नै छ। आम जनसमुदायलाई पार्टीको उद्देश्य र कार्यक्रम मार्फत प्रशिक्षित र संगठित गर्ने कार्यलाई योजनाबद्ध रुपमा बढाउन आवश्यक छु प्रतिवेदनमा भनिएको छ।

आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजयी गराउने र संघीय एवम् प्रादेशिक निर्वाचन मार्फत देशको नेतृत्वदायी शक्तिको रुपमा पार्टीलाई स्थापित गर्ने गरी संगठनात्मक कार्य अगाडि बढाउने प्रतिवेदनमा उल्लेख छ।

समाजवाद निर्माणको लागि ‘नयाँ क्रान्तिकारी विचार नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँु भन्ने ध्येयले पार्टी निर्माणमा जुट्न आग्रह गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राजनीतिक विरासत दक्षिणपन्थीहरुले बोक्न नसक्ने प्रचण्डको जिकिर छ। आफ्नै शक्तिको भरपर्दै क्रान्तिकारी पार्टी निर्माण गर्ने र विचार मिल्ने वामपन्थी शक्तिहरूसँग मोर्चाबन्दी, सहकार्य र ध्रुवीकरण गर्दै नेकपाको विरासत र स्वामित्व पार्टीको लिनुपर्ने उल्लेख छ।

‘हामीले पार्टीलाई बलियो बनाउन अहिल्यैदेखि मेहनत गरेर लाग्नुपर्छ। अहिलेको जस्तो खटाईले आगामी निर्वाचनमा राम्रो नतिजा ल्याउन सकिँदैन। हामीले एक चरणको प्रतिगमनलाई जितेका छौँ। अर्को चरणमा पनि प्रहार हुनसक्छ। त्यसमा सचेत रहेर हामीले आगामी नतिजामा पहिलो हुनेगरी सबैले काममा लाग्नुपर्छ,’ प्रचण्डको भनाइ छ।

गठबन्धनको शेरबहादुर देउवाको सरकार जुनसुकै बेलामा अल्पमतमा पर्न सक्ने खतरा रहेका आकलन गरे। प्रचण्डले भने, ‘माधवजीले दह्रो गरेर खुट्टा टेक्नुभएको छ। गठबन्धनलाई भत्काएर यो सरकार ढाल्नलाई शक्तिहरूको लडाईं चलिरहेको छ। हामीले बेलैमा त्यसबारे सचेत भएर लाग्नुपर्छ।’

बैठकमा २१ औं शताब्दीको वैज्ञानिक समाजवादको आर्थिक, राजनैतिक र सांस्कृतिक स्वरूपको नयाँ संश्लेषण गर्ने र समाजवाद निर्माणका लागि नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गर्न राष्ट्रिय सम्मेलनसम्म पुग्दा छलफल बहस गरेर संश्लेषण गर्नुपर्नेमा प्रचण्डको जोड छ। ​

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

two × = ten