काठमाडौँ । उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले राति ८ बजेदेखि सवारी साधान सञ्चालनमा लगाइएको रोक हटाएका छन् ।
मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरले बुधबारदेखि लागू हुनेगरी राति ८ बजेपछि अत्यावश्यक र अनुमति लिए बाहेकका सवारी साधन चलाउन नपाउने यसअघिको प्रावधानलाई हटाएका हुन् ।
आदेशमा यसअघि निषेध गरिएका सभा, सम्मेलन, पार्टी प्यालेस, डान्सबार रेस्टुरेन्ट लगायत भीडभाड हुने गतिविधिलाई आगामी भदौ १६ सम्म यथावत राखिएको छ । तर प्रशासनले जारी गरेको आदेश सरकारी निकाय र विभिन्न राजनीतिक दलले उल्लंघन गरिरहेका छन् ।
सोमबार मात्रै गृह मन्त्रालयको आयोजनामा निषेधाज्ञाका प्रावधान विपरीत नक्सालको मेरियट होटलमा भीडभाड हुने गरी कार्यक्रम गरिएको थियो ।
एमालेबाट अलग भइ नयाँ दल गठनको प्रक्रियामा रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित करिब ६ दर्जन नेतालाई चन्द्रागिरी हिल्स रिसोर्टले प्रशासनको आदेश उल्लंघन गर्दै आवासीय अनुमति दियो ।
यस विषयमा काठमाडौं प्रशासनले रिसोर्टसँग किन भीडभाडजन्य गतिविधि गरेको भनेर स्पष्टीकरण सोधेको छ ।
अन्य राजनीतिक दलहरुले पनि संक्र,मण रोकथामका लागि ल्याइएका आदेश विपरीत गतिविधि गरिरहेका छन् ।