काठमाण्डौ । वाईसीएल नेपालका नेतारकार्यकर्ताहरूले आउँदो चुनावमा आफ्नो पार्टी नेकपा माओवादी केन्द्रलाई सबैभन्दा ठूलो दल बनाउने प्रतिबद्धता जनाएका छन् ।
काठमाण्डौमा चलिरहेको राष्ट्रिय भेलामा सहभागी भएका उनीहरूले युवाहरूलाई परिचालन गरेर आउँदो चुनावमा माओवादी केन्द्रलाई पहिलो राजनीतिक शक्तिको रूपमा स्थापित गराउने प्रतिक्रिया दिएका हुन् । त्यही काममा नेतृत्व दिन सक्ने व्यक्तिलाई सङ्गठनको नेतृत्वमा ल्याउनुपर्ने वाईसीएलका नेतारकार्यकर्ताहरूले पार्टी नेतृत्वसँग माग गरेका छन् ।
आउँदो चुनावमा माओवादी केन्द्रलाई पहिलो शक्तिको रूपमा स्थापित गराउने गरी युवाहरूलाई परिचालन गरेर अघि बढ्ने योजनासहित आफूहरू परिचालित हुने वाईसीएल नेपाल भक्तपुरका संयोजक नरेश वाइवाले बताउनुभयो । उहाँले त्यसका लागि देशभरका युवालाई परिचालन गरेर नागरिकमाझ जान सक्ने नेतृत्वको आवश्यक्ता रहेको जनाउनुभयो ।
सिन्धुपाल्चोकका वाईसीएल संयोजक रूपेन्द्र आचार्यले आउँदो चुनावमा देशको पहिलो राजनीतिक पार्टी माओवादी केन्द्रलाई बनाउने गरी आफ्नो सङ्गठनलाई सशक्त बनाएर अघि बढ्ने बताउनुभयो । उहाँले त्यसका लागि वाईसीएल नेपालले देशभर राजनीतिक पहुँच वृद्धि गरेर अघि बढ्नुपर्ने भएकाले त्यहीअनुसारको नेतृत्व बनाउनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै मकवानपुरकी जिल्ला संयोजक अनु लामाले युवाहरूलाई सक्षम र दक्ष बनाएर माओवादी केन्द्रलाई देशको पहिलो पार्टी बनाउन वाईसीएल नेपालले ध्यान केन्द्रित गर्नुपर्ने आवश्यक्ता औँल्याउनुभयो ।
वाईसीएल नेपालको चलिरहेको राष्ट्रिय भेलाले दुई सय ३१ सदस्यीय केन्द्रीय कार्य समिति र अध्यक्षसहित ३५ जना पदाधिकारी चयन गर्नेछ । मूल नेतृत्व सहमतिमै चयन गर्न पार्टी नेतृत्वले प्रयास गरिरहेको पनि वाईसीएल नेपालले जनाएको छ ।