काठमाडौं । अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले अबको १० वर्षमा युवा पुस्ताले देश विकास गर्नुपर्ने बाध्यता रहेको बताएका छन् । बुधबार ज्ञानकुञ्ज एजुकेसन फाउन्डेशन प्रा.लि. भवनको शिलान्यास कार्यक्रममा अर्थमन्त्री शर्माले अबको १० वर्ष देश विकासका लागि युवा पुस्ता लागिपरे मात्र देशले कोल्टो फेर्ने बताए ।
उनले अहिलेको युवा पुस्ताले अबको एक दशक देश विकासका लागि समय ननिकाल्ने हो भने वृद्धावस्थामा देश विकास गर्छु भनेर पनि नसकिने धारणा व्यक्त गरे ।
अबको एक दशक नेपाल राष्ट्रका लागि महत्वपूर्ण घडी भएको बताउँदै अर्थमन्त्री शर्माले यो अवधिमा धेरै समस्याहरूलाई पन्छाउँदै विकास प्रगतितिर अघि बढ्नुपर्ने बताए । उनले प्रकृतिले दिएको सुन्दर उपहारले नेपाल भरिपूर्ण भएकोले शैक्षिक र सक्षम जनशक्ति तथा श्रोतको एकताबाट मात्रै देश विकास सम्भव हुने बताए ।
अर्थमन्त्री शर्माले भने, ‘हाम्रो देशको विकास गर्नका लागि हामीसँग भएको पर्याप्त साधन, स्रोत, जनशक्ति अहिले जे छ, नेपाल युवा बहुल जनशक्तिमा छ, यो १० वर्षको अवधिमा हामीले यो देशलाई विकास गर्न सक्यौँ भने यो एउटा अवसर हो, यदि यो १० वर्षको अवधि प्रयोग गर्न सकेनौँ भने क्रमशः अहिलेको युवा, प्रौढ हुँदै, वृद्ध हुँदै बुढाहरूको बाहुल्य हुने अवस्था सिर्जना हुन्छ, त्यतिवेला हामी विकास गर्छौँ भनेर पनि, हाम्रो श्रम प्रयोग गर्छौँ भनेर पनि नसक्ने अवस्था सिर्जना हुन्छ,
त्यसकारण अबको १० वर्ष, यो एक दशक, नेपाल राष्ट्रका लागि महत्वपूर्ण घडी छ, यही अवधिमा हामीले धेरै समस्या, चुनौतीलाई पन्छाउँदै विकास, प्रगतितिर अगाडि बढ्नुपर्नेछ, हामीसँग पर्याप्त मात्रामा साधन, स्रोतहरू छन्, प्रकृतिले हामीलाई दिएको छ, अत्यन्त सुन्दर राष्ट्र छ र हाम्रो शैक्षिक र सक्षम जनशक्ति र यो स्रोतको एकताबाट मात्रै राष्ट्र निर्माणप्रतिको एउटा प्रतिबद्धताबाट मात्रै यो कुरालाई अगाडि बढाउन सम्भव छ,
थुप्रै राजनीतिक परिवर्तनहरू भए, थुप्रै आदोलन, युद्ध संघर्ष हामीले गर्यौँ, जनयुद्ध, जनआन्दोलन तमाम कुराहरू भए, त्यो केवल राजनीतिक परिवर्तन र राष्ट्र निर्माण र समृद्धिका लागि थिए ।’
अर्थमन्त्री शर्माले युवाले देखेको देशको विकास र समृद्धिमा भ्रष्टाचार, राजनीतिक समस्या भइरहेकोले युवाहरू निराश भएको र अब त्यस्तो नैराश्यता पैदा हुन नदिने आश्वासन दिए । अबको युवा पुस्ताले देश विकास गर्ने जिम्मा अब आफ्नो भएको भन्ने कुरा सोचेर अघि बढ्नुपर्ने उनले बताए ।