काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्। विहान नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई भेटेपछि प्रचण्ड देउवालाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्।
यसअघि बुधबार पनि सत्तारुढ गठबन्धनका नेताहरुबीच सिंहदरबारमा भेटवार्ता भएको थियो। बुधबारको भेटवार्तामा गठबन्धनका नेताहरुबी संसद बैठक सञ्चालन र मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भएको बताइएको थियो।
बिहीबार अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमार नेपाल भ्रमणमा आएपछि प्रचण्डले एमसीसी सम्झौताको विषयमा गठबन्धनको समान धारणा बनाउने भनेर भेटवार्ता थालेका बताइएको थियो।
गठबन्धनमा रहेका एकीकृत समाजवादी र जनता समाजवादीका अध्यक्षलाई भेटेपछि एमसीसीकै विषयमा छलफल गर्न प्रचण्ड देउवालाई भेट्न बालुवाटार पुगेका उनको सचिवालय स्रोतले जानकारी दिएको छ।
ओली भेट्न एमसीसी उपाध्यक्ष बालकोटमा
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारले भेटवार्ता गरेकी छिन् ।
उनीसहितको टोली ओलीलाई भेट्नका लागि बिहीबार मध्यान्ह ओली निवास बालकोट पुगेको थियो । सो क्रममा नेपालको संसदमा विचाराधीन रहेको एमसीसी सम्झौताका विषयमा छलफल केन्द्रीत भएको बताइएको छ ।
एमसीसी कार्यान्वयनका लागि एमसीसीकी उपाध्यक्ष फातिमा सुमारको टोली आजै बिहान काठमाडौं आइपुगेको थियो । टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुसाल लगायतलाई पनि भेट गर्ने कार्यक्रम छ ।