
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवा नेता महेश बस्नेतले सभामुखले सदन चलाउने हैसियत गुमाएको बताएका छन् ।संसदको नियमावलीको पालना गर्न नसक्ने सभामुख हुनुको अर्थ नभएको उनको भनाइ थियो ।
सभामुखले सरिता गिरीलाई पार्टीले कार,वाही गर्दा १२ घण्टामा सूचना टाँसेको, टोपबहादुर रायमाझीलगायतका नेतालाई पार्टीले कारवाही गर्दा तुरुन्त सूचना टाँसेको तर एमालेले १४ जनालाई गरेको कारवाहीको जानकारी दिएको दुई महिनासम्म पनि सूचना टाँस नगरेको भन्दै आक्रोश व्यक्त गरे ।
उनले अग्नि सापकोटा प्रतिनिधिसभाको मुख नभएर पार्टीको मुख बनेको भन्दै आफ्नो छबि सभामुखले ध्वस्त पारेको बताए ।
संसदीय इतिहासमा कार्य व्यवस्था परामर्श समितिको बैठक नबसी संसद् नचल्ने तर सापकोटाले यो नजिर तोडेको उनको आरोप थियो । सभामुख सापकोटा प्रतिनिधिसभाको मुख बन्नुपर्नेमा अहिले प्रचण्ड र माधव नेपालको मुख भएको उनको टिप्पणी थियो ।
सभामुखले खुलेआम प्रनिनिधिसभा निवावली मिचेर आफैँले स्थापित गरेको विगतको नजिर मिचेको आरोप बस्नेतको थियो ।
एमाले अहिले पनि कम्युनिस्ट एकताको पार्टी नै रहेको बताउँदै जनताले चाहेको नेकपाको आधार नै अहिलेको एमाले रहेकाले केही अवसरवादी नेताहरू बाहिरिँदैमा पार्टीलाई कुनै असर नपर्ने उनले दाबी गरे । एकताको समयका माओवादी केन्द्रका नेताहरू अहिले पनि सँगै रहेकाले यो एकताकै रूपमा रहेको सिंगो एमाले भएको बस्नेतले बताए ।
माधव नेपालले १५ वर्ष चलाएको पार्टी त्यस बेला निकै कमजोर रहेको र निर्वाचनमा समेत हार बेहोरिरहेको स्मरण गर्दै केपी ओलीले नेतृत्व गर्दा दुई तिहाइ ल्याउन सक्ने क्षमता भएका नेतालाई सधैँ असफल भएका नेताले चुनौती दिन खोज्नु लज्जास्पद रहेको टिप्पणी गर्न पनि भ्याए बस्नेतले ।
एमालेको सरकार ढालेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गराउने र केपी ओलीले विश्वासको मत माग्दा नदिएर पार्टीमा अस्तित्व खोज्नेहरू अब काँग्रेसमा वा माओवादीमा प्रवेश गरे हुने उनले बताए ।
उनले अहिले पनि एकीकृत समाजवादीका नाममा एमालेका नेता, कार्यकर्तालाई प्रलोभन पार्ने काम भइरहेकाले त्यस्ता गतिविधि नगर्न चेतावनी पनि दिए ।