काठमाडौं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले आउँदो निर्वाचनपछि आफ्नो पार्टी पहिलो बन्ने दाबी गरेका छन्।
बुधबार बिहान केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित माओवादीका दिवंगत नेता पोष्टबहादुर बोगटीको ७औं स्मृति दिवसको कार्यक्रममा बोल्दै उनले आउँदो निर्वाचनमा माओवादीलाई पहिलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने दाबी गरे।
उनले अहिलेको गठबन्धन (कांग्रेस-माओवादी) एकीकृत समाजवादी र जसपाबीचको गठबन्धन निर्वाचनसम्म जान सक्ने संकेत पनि गरे। गठबन्धन कायमै रहे चुनाव गठबन्धनको दुई तिहाइ आउने उनको भनाइ छ।
देशमा प्रतिक्रान्ति, प्रतिगमन नहोस् भनेर संविधान गणतन्त्र र लोकतन्त्रका पक्षपातीहरुको गठबन्धनलाई अगाडि लिएर जाने कुरालाई पहिलो प्राथमिकतामा राख्ने प्रचण्डले बताए।
अहिले आफ्नो पार्टीमा रहेका माथिल्लो नेताहरू बिग्रिएकाले पार्टी रुपान्तरण र पुनर्गठन गर्नुपर्ने बेला आएको प्रचण्डले बताए। यद्यपि, तल्लो तहका कार्यकर्ता र जनता अहिले पनि माओवादी र आन्दोलनप्रति प्रतिबद्ध रहेको प्रचण्डको भनाइ छ।
‘हाम्रो पार्टी यो बीचमा हिजोको विरासतबाट कहीँ न कहीँ विचलित भएको छ। व्यक्तिगत स्वार्थ, व्यक्तिगत फाइदका लागि हाम्रो लगाव देखिन्छ। अरु पार्टीजस्तै बुर्जुवा हुनेतिर गइरहेको हो कि भन्ने चिन्ता छु, प्रचण्डले भने, ‘अहिले पनि क्रान्तिमा जाने भनेपछि जुरुक्क उठ्ने कार्यकर्ता माओवादीमा छन्। जनता र तल्लो तहका कार्यकर्ता बिग्रेका होइनन् हामी माथिल्लो तहका रहेकाहरू केही बिग्रियौं भन्ने देखिएको छ।’