काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश र जनतालाई केन्द्रमा राखेर गुटगत र व्यक्ति केन्द्रित राजनीतिबाट माथि उठ्नु पर्नेमा जोड दिनुभएको छ ।
माओवादी केन्द्रका दिवंगत नेता पोष्टबहादु बोगटीको ७ औं स्मृति दिवसको सन्दर्भमा आज राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले सो कुरा बताउनु भएको हो। संसद विघटन हुनबाट रोकेर आफूहरुले देशलाई ठूलो दुर्घटनाबाट जोगाएको बताउँदै अध्यक्ष दाहालले वर्तमान सत्ता गठबन्धनलाई बचाउनु पर्नेमा जोड दिनु भयो।
माओवादी केन्द्र दुई पटक सरकारमा पुगे पनि राम्रोसँग नेतृत्व गर्न नपाएको गुनासो पनि अध्यक्ष प्रचण्डले त्यस बखत गर्नुभयो ।
एमाले अवरोधले राष्ट्रिय सभा स्थगित
नेकपा एमालेका सांसदको अवरोधका कारण राष्ट्रिय सभाको आजको बैठक पनि स्थगित भएको छ । बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले आ-आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि बैठक सञ्चालन हुन नसकेको हो ।
नेकपा एमालेले १४ जना सांसदलाई पदमुक्त गर्न गरेको सिफारिस सभामुखले कार्यान्वयन नगरेको भन्दै एमालेले संसदमा विरोध जनाउँदै आएको छ । संसदको चालु अधिवेशन सुरु भएदेखिनै एमालेले विरोध स्वरुप प्रतिनिधि सभामा समेत नाराबाजी गरिरहेको छ । राष्ट्रिय सभाको अर्को बैठक असोज ५ गते बस्ने छ ।