काठमाडौं। नेकपाका अध्यक्ष प्रचण्ड र सीता दाहालकी छोरी रेनु दाहालले बुवा (प्रचण्ड) को व्यक्तित्व निर्माणमा आमा (सीता दाहाल) को ठूलो योगदान रहेको बताएकी छिन्।
बिहीबार प्रचण्ड–सीता दाहालको ५० औं विवाह उत्सवका अवसरमा आयोजित कार्यक्रममा स्वागत गर्दै रेनुले उक्त कुरा बताएकी हुन्।
भरतपुर महानगरकी मेयरसमेत रहेकी उनले जीवनका जस्तासुकै दुखकष्टमा पनि आमाले बुवाको साथ नछोडेको बताइन्।
उनले भनिन्, ‘भनिन्छ नि पति होस् त प्रचण्डजस्तो। तर, पत्नी होस् त सीताजस्तो पनि हामीले भुल्नु हुँदैन। आमाको जीवनमा बुवा जति महत्वपूर्ण हुनुहुन्छ, बुवाको व्यक्तित्व निर्माणमा पनि आमाको ठूलो योगदान छ।’
रेनुले संकटकाल र सशस्त्र युद्धको कहालीलाग्दो अवस्थामा पनि आमा सीताले पार्टी र बुवालाई निरन्तर साथ दिएको बताइन्। उनले भनिन्, ‘आमाका लागि सबैभन्दा ठूलो पार्टी र आन्दोलन थियो, त्यसपछि बुवा।
आफन्त र परिवारभन्दा जहिले पनि उहाँले पार्टी र बुवालाई माथि राख्नुभयो।’