चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली प्रवृत्ति नेपाली जनता र राष्ट्रका लागि घातक प्रवृत्ति भएको बताउनुभएको छ ।
चितवनको भरतपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘त्यही प्रवृत्तिका कारण ओली बालुवाटारबाट बालकोट जान परेको र देशैभरीका प्रदेश सरकार खोसिँदै गएको हो ।’
ओली प्रवृत्ति भनेको एउटा निरंकुश, एकाधिकार, प्रतिगमनकारी प्रवृत्ति भएको बताउनुहुँदै अध्यक्ष प्रचण्डले राजनीतिलाई स्थिरता दिन ओली प्रवृत्ति बाधक भएको पनि उल्लेख गर्नुभयो ।
उहाँले ओली प्रचण्डबाट अत्तालिएर माडीमा रामसीताका नाममा राजनीति गर्न थालेको र त्यसले पनि नपुगेर चितवनमा नै महाधिवेशन गर्न समेत लागेको बताउनुभयो ।
ओलीले आफूलाई जति खेदे पनि आफू चितवनबाटै चुनाव लडेर भारी मतले विजय भएर देखाउने समेत अध्यक्षको भनाइ थियो । बालुवाटारबाट बालकोट सर्नु नै ओलीको ठुलो पराजय भएको बताउनुहुँदै उहाँले त्यो बेला ओली क्याम्पमा शोक छाएको बताउनुभयो ।
अध्यक्षले भन्नुभयो, ‘देशको राजनीति विशिष्ट अवस्थामा छ, मैले चितवन जिल्लाबाट निर्वाचनमा प्रतिष्पर्धा गर्दैगर्दा र पार्टीको तर्फबाट यहाँको जनतालाई सम्बोधन गर्दैगर्दा, सकारात्मक परिस्थिती थियो, संविधान बनिसकेपछि, राजनीतिक
अस्थिरतालाई हटाउन, समाज र विकासको उद्देश्यकासाथ वाम गठबन्धनबाट निर्वाचन लडिएको थियो, कम्युनिष्टहरूलाई एकताबद्ध गर्ने उद्देश्य राखिएको थियो, त्यसले चितवन जिल्ला र देशभर नै सम्पूर्ण वामपन्थी र जनवादी शक्तिहरूमा जनताले एउटा ठूलो उर्जा जनताबाट प्राप्त भएको थियो ।’
कार्यक्रममा २६५ जना अन्य पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गर्नुभएको थियो । उहाँहरुलाई अध्यक्ष प्रचण्डले टीका र खादा लगाएर स्वागत गर्नुभएको थियो ।
जसमा १४७ जना नेकपा एमाले छोडेर, ५२ जना काँग्रेस र अन्य राप्रपा, जसपा लगायतका पार्टी छाडेर २६५ जना माओवादी केन्द्रमा प्रवेश गरेका थिए