काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनलाई तोड्ने षड्यन्त्र भइरहेको बताएका छन् ।
सोमबार नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले दसैं, तिहार छठ तथा नेपाल सम्वत् ११४२ को अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले वर्तमान सत्तारुढ गठबन्धन तोड्नका लागि अनेकौं षड्यन्त्रहरु भइरहेको बताएका हुन् ।
गठबन्धनलाई भत्काएर प्रतिक्रियावादी गठबन्धन बनाउने कसरत भएको उनले बताए । गठबन्धनभित्र वैचारिक र राजनीतिक रुपले कमजोर पात्रलाई प्रयोग गर्नका लागि खोजी भइरहेको पनि उनले जिकिर गरे ।
वैदेशिक शक्तिहरु गठबन्धन कमजोर पार्ने उपायको खोजीमा लागिरहेको उनले दाबी गरे ।
अध्यक्ष दाहालले तिनै तहको निर्वाचन एकैपटक गर्न सकिन्छ कि भनेर छलफल चलिरहेको बताए ।
तिनै तहको चुनाव एकैपटक गर्न सके चलखेल र षड्यन्त्र हुन नपाउने भन्दै उनले राज्यलाई आर्थिक बोझ पनि कम हुने बताए ।
उनले पहिले संघको निर्वाचन गराएर मात्रै स्थानीय तहको निर्वाचन गर्ने विचारहरु पनि छलफलमा आएको जानकारी दिए ।
अध्यक्ष दाहालले अनेक खालको षड्यन्त्र हुनसक्ने भन्दै त्यसतर्फ सबै चनाखो भएर बस्नुपर्ने बताए ।